व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भन्दै ब्युटिपार्लर तथा सैलुन सञ्चालक सडकमा
फाइल फोटो

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै सौन्दर्य कला व्यवसायी र सैलुन सञ्चालक प्रदर्शनमा उत्रिएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ६ महिीनादेखि यस्ता व्यवसाय ठप्प छन् । सरकारले बन्दाबन्दी अन्त्यको घोषणा गरेपनि सैलुन, ब्युटिपार्लर, मसाजलगायत व्यवसाय पुनः सञ्चालन गर्न दिइसकेको छैन ।

व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै सौन्दर्य कला व्यवसायी संघ आवद्ध ब्युटिसियनहरूले मंगलबार काठमाडौंको माइतीघर मण्डलमा पुगेर धर्ना दिएका थिए । नेपाल नाइ ट्रेड युनियन केन्द्रीय समिति, नेपाल नाइ संघ जिल्ला समिति ललितपुर र अखिल नेपाल राष्ट्रिय नाइ महासंघ आवद्ध सैलुन व्यवसायीले पनि ललितपुरको जाउलाखेल चोकबाट र्याली निकालेर माइतीघर मण्डलमा पुगेर धर्ना दिएका थिए । 

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि सौन्दर्य कला व्यवसाय बन्द हुँदा भोकै बस्न परिरहेकोले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उनीहरूको माग छ ।  
स्वास्थ्य मापदण्ड कायम गरी व्यवसाय सञ्चालन पाउनुपर्ने, कर छुट दिनुपर्ने, निःशुल्क रूपमा पिपिई सेट उपलब्ध गराउनुपर्ने, राहत पाउनुपर्ने लगायत उनीहरूको माग छ ।

सौन्दर्य कला व्यवसायी संघका अनुसार नेपालमा करीब चार लाख सौन्दर्य व्यवसाय सञ्चालनमा छन् । संघले सोमबार ब्युटिपार्लर तथा ब्युटी सैलुन सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापन पत्रसमेत बुझाएको थियो ।
 





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १५:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया