बाग्लुङ बाढीप्रभावित बालबालिकाका लागि ‘शिक्षा तथा भविष्य कोष’ स्थापना गरिने

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ बोबाङका बाढीपहिरो प्रभावित बालबालिकाका लागि ‘शिक्षा तथा भविष्य कोष‘’ स्थापना गरिने भएको छ । बागलुङ र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाका स्वयंसेवी पाँच महिलाको आर्थिक सहयोगमा सो कोष स्थापना गर्न लागिएको हो ।

ढोरपाटन नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप राहत कोष अन्तर्गत रहने गरी सो कोष स्थापनाका लागि ती महिलाले २ लाख ५६ हजार ९ सय ३१ सहयोग गरेका छन् । उक्त कोषको ब्याजबाट बाढीपहिरोमा परी अभिभावक गुमाएका बालबालिकाको शिक्षा र भविष्यमा सीप तथा रोजगारीका लागि खर्च गरिनेछ । 

जिल्लाको गल्कोट नगरपालिका–८ की पार्वती हितान, काठेखोला गाउँपालिका–२ की इन्द्रकुमारी काउचा, सोही गाउँपालिका–३ की सावित्री खड्का, बागलुङ नगरपालिका–१ की जमुना थापा र सोही नगरपालिका–१३ की यशोदा शर्माले सो कोष स्थापनाका लागि उक्त रकम सहयोग गरेका हुन् । 

उनीहरुकै आग्रहमा नगरपालिकाले ‘बालबालिकाका लागि शिक्षा तथा भविष्य कोष’ स्थापना गर्न लागेको हो । यो कोषले पीडित बालबालिकाको शिक्षादिक्षामा सहयोग गर्ने नगर उपप्रमुख करमती पुनले बताइन् । ढोरपाटनका बाढीपहिरा पीडित महिला तथा बालबालिकाका लागि ती महिलाले जिन्सी सामग्री सङ्कलन गरी वितरणसमेत गरेका छन् । 

वितरण गरिएका सामग्रीमा महिलाका लागि लुङ्गी एक सय थान, पेटिकोट एक सय थान, टी–सर्ट एक सय थान, भित्री वस्त्र ९–९ दर्जन, च्यादर ८० थान, प्याड २ बन्डल, किशोरीका लागि सुरुवाल ४० थान, चप्पल १०४ थान, टी–सर्ट ४० थान, भित्री वस्त्र ३ दर्जन ४ थान, सेन्डो ३ दर्जन, स्यानिटरी प्याड ४० थान, बेलुन चप्पल ३१ थान र बालबालिकाका लागि कपडा ३१ थान, टोपी २७ थान, बिस्कुट ५ दर्जन, चकलेट २ पोका र नौमहिने शिशुका लागि ब्लाङ्केट एक थान, खेलौना ३५ थानलगायत छन् । ती सामग्रीको मूल्य रु २ लाख ४४ हजार ८ सय रहेको बताइएको छ । 

मृत्यु भएकाको परिवारलाई काजकिरिया खर्च 



बागलुङको जैमिनी नगरपालिकाले पहिरामा परी मृत्यु भएकाको परिवारलाई २५–२५ हजार काजकिरिया खर्च उपलब्ध गराएको छ । गत आइतबार र सोमबार वर्षासँगै आएको पहिरामा परी मृत्यु भएका तीनजनाको परिवारलाई २५ हजारका दरले काजकिरिया खर्च उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । 

पहिरोमा परी मृत्यु भएका जैमिनी नगरपालिका–१ कुश्मीशेरा टुनीबोटकी लक्ष्मी पौडेल र हरिकृष्ण पौडेल तथा वडा नं ५ की जालपादेवी पौडेलको परिवारलाई तत्कालै किरिया खर्चबापत सो रकम उपलब्ध गराएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । 



‘तत्कालको समस्या समाधान गर्नु हाम्रो दायित्व हो, मृत्यु संस्कार पूरा गर्नका लागि स्थानीय सरकारले सो रकम सहयोग गरेको छ,’ उनले भने, ‘बाँकी राहत र पुनर्स्थापनाका लागि प्रदेश र सङ्घीय  सरकारसँग समन्वय गर्छौं ।’ 

मृतकको परिवारलाई घटनास्थलमै पुगेर नगदै प्रदान गरिएको नगरप्रमुख पौडेलले बताए । दुई दिनको निरन्तर पहिराले जैमिनीमा आठ घर पुरिएका छन् भने ३४ घर उच्च जोखिममा छन् । घर पुरिएपछि टुनीबोटका २५ जनालाई आफन्तको घरमा राखिएको छ ।

  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १६:२९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया