मेलम्ची खानेपानी आयोजना : ‘हेडबक्स’ निर्माणको काम ७० प्रतिशत सम्पन्न
फाइल फोटो

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माणको काम करिब ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि आठ महिना बाँकी रहेको छ ।

आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौताका आधारमा कम्पनीले ‘हेडबक्स’ निर्माणसमेत अघि बढाइरहेको छ ।

निर्धारित अवधि आगामी वैशाखसम्ममा निर्माण सम्पन्न भइसक्ने खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । सुरुङ निर्माण सकिएर परीक्षणका क्रममा दुर्घटना भएपछि अहिले यसको गेटमा रहेको त्रुटि सच्याउने काम भइरहेको छ । 

आगामी मंसिर, पुससम्ममा त्रुटि सच्याउने काम सकिएर पुनः सुरुङको परीक्षण हुने उनले बताए । सो समयमा पनि ‘हेडबक्स’ निर्माण नसकिने हुँदा अस्थायी बाँधबाट नै पानी पठाइनेछ ।

परीक्षणका लागि र नियमित पानी पठाउन केही समयसम्म अस्थायी बाँधबाटै पथान्तरण (सुरुङमा छिराउने) गरिने बताइएको छ । उनले भने, ‘हेडबक्स सकिएपछि मात्रै त्यसबाट पानी पठाइनेछ ।’

दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाका अन्तिम चरणको काम भइरहेको छ । आयोजनामा यसअघि काम गरेको इटालियन निर्माण कम्पनी सिएमसिले आयोजना अलपत्र छाडेर गएपछि सरकारले गत वर्ष असोजमा बाँकी काम सम्पन्न गर्ने गरी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । आयोजनामा यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ ।
 





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १६:३३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया