के वामदेव गौतम राष्ट्रिय सभाका लागि सिफारिस भएका छैनन् ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय नेकपाको सचिवालय बैठकले गरेको छ । १८ भदौमा बसेको यो बैठकले गरेको यो निर्णय पछि दुई पटक मन्त्रीपरिषद् बैठक बसिसकेको छ ।

मन्त्रिपरिषद् बैठकबाट गौतमलाई सिफारिस गरेर अगाडि लैजाने भन्ने योजना नेकपा सचिवालय बैठकमा निर्णय भएको थियो । 

तर, अहिलेसम्म गौतम राष्ट्रिय सभाका लागि सिफारिस भएका हुन् या होइनन् भन्ने प्रष्ट हुन सकेको छैन । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट बाहिर निस्किएपछि एक मन्त्रीले फरकधारसँग कुराकानी गर्दै सचिवालय बैठकले नै निर्णय गरिसकेकाले गौतम राष्ट्रिय सभाका लागि सिफारिस भएको बताएका थिए । 

तर, मंगलबार साँझ परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा यसबारे कुनै जानकारी दिएका छैनन् । 

यसले थप अन्योल बढेको छ– वामदेव गौतम राष्ट्रिय सभाका लागि सिफारिसमै नपरेका त होइनन् ? 

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्षले नै भनिसकेपछि यो आलटाल किन भएको हो भन्ने मैले पनि बुझेको छैन, केही दिन कुर्नु पर्ला,’ सोमबार मन्त्रिपरिषद् बैठक बस्नुअघि नै फरकधारसँगको टेलिफोन सम्पर्कमा नेकपा उपाध्यक्ष वामदेव गौतमले भनेका थिए, ‘पार्टीले निर्णय गरिसकेको यो कुरामा अहिले मैले बोल्नु उपयुक्त हुँदैन ।’



तर, यता, गौतम राष्ट्रिय सभाका लागि सिफारिस भए या भएनन् भन्ने विषयमा अहिलेसम्म प्रष्ट खुलिसकेको छैन । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता ज्ञवालीले यस विषयमा केही पनि नभनेपछि थप अन्योल सिर्जना भएको छ । 

अर्कोतिर केही नेकपा नेताहरुले अहिले पनि वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान सिफारिस नभइसकेको बताएका छन् । 



२० फागुनदेखि रिक्त यो पदमा नेकपा सचिवालय बैठकले गौतमलाई लैजाने भने पनि अहिले किन आलटाल भइरहेको छ त ?

प्रधानमन्त्री ओली निकट नेताहरु यसमा एक विशेष कारण देख्छन् ।

पहिलो, ओलीले चाहेर नै वामदेव गौतमलाई यसमा ढिलाइ गरिरहेका छन् । यो उनले आफूलाई नेकपामा थप बलियो बनाउन चालेको चाल हो । ओलीले अहिले आलटाल गर्दा वामदेव गौतमलाई मन्त्री नबनाउने योजना बनाएको यो पक्षले विश्लेषण गरेको छ । वामदेव गौतमलाई राष्ट्रिय सभामा नै लैजान आलटाल गर्ने हो भने उनलाई मन्त्री पद दिनु नपर्ने निष्कर्षमा ओली पुगेको हुनसक्ने उनीनिकट एक नेताले फरकधारलाई बताएका छन् ।

  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार ६:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया