नेपाल पर्यटन बोर्डले चाडपर्वको सन्दर्भलाई लक्ष्य गर्दै चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको छ । चाडपर्वका समयमा विगतका दिनमा जस्तो रमाइलोसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सिर्जनशीलता सम्मिश्रण गराई चाडपर्वको रौनक अनुभूति गराउने उद्देश्यका साथ चाडपर्व फोटो प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ ।
प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि तथा केही पनि सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन सकिनेछ । सहभागीले आगामी मङ्सिर १० गतेसम्म फोटो पठाइसक्नुपर्नेछ ।
उत्कृष्ट पाँच सहभागीले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने बोर्डले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले विगतका फोटो प्रतियोगितामा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिताका रुपमा गरिएको बताए ।
सहभागी हुन प्रत्येक सहभागीले कम्तीमा सात भिन्नाभिन्नै फोटो पठाउनुपर्नेछ । यसले नेपाली चाडपर्वको विराटलाई अनुभूति गराई फोटोमार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई बृहत् बनाउने अपेक्षा गरिएको छ ।
पर्यटन बोर्डले चार वर्षअघिदेखि फोटोका माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो ।
बोर्डका अनुसार देश चिनाउने फोटो प्रदर्शनी चार वर्षदेखि निरन्तर रुपमा भइरहेको छ । यस अभियानलाई अझ व्यापक बनाउन फोटो नेपाल डट ट्राभल सुरु गरिएको हो । हाल यसमा ११ हजार बढी सदस्यका २५ हजार फोटो सङ्गृहीत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।