आन्तरिक वायुसेवा सञ्चालक संघमा आबद्ध निजी वायुसेवाले तत्काल उडान सञ्चालन नगर्ने भएका छन् । सरकारले आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्नुपर्ने नियम बनाएपछि त्यसमा आपत्ति जनाउँदै उनीहरुले तत्काल उडान नगर्ने भएका हुन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर असोज १ गते (बिहीबार)देखि आन्तरिक उडान सुचारु गर्न सकिने निर्णय गरेको थियो । सरकारको सो निर्णय मान्य नहुने भन्दै निजी वायुसेवा सञ्चालकले तत्काल उडान गर्न असमर्थ रहेको जानकारी गराएका हुन् ।
बुधबार उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र पर्यटन सचिव केदारबहादुर अधिकारी र नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएर यसबारे जानकारी गराएका छन् ।
छिमेकी मुलुक भारतलगायत विश्वका अन्य कुनै पनि मुलुकले सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्ने नियम नलगाएको उल्लेख गर्दै उनीहरुले नेपाल सरकारले लगाएको यस्तो व्यवस्था मान्य नहुने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।