सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाका युवा उद्यमीलाई नेपाल बैंक लिमिटेडले सहुलियत ऋण प्रदान गर्ने भएको छ । गाउँपालिकाद्वारा संचालन गर्न लागेको अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रममा बैंकले सहकार्य गरी सहुलियत ऋण प्रदान गर्ने भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमलप्रसाद नेपालले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंक र गाउँपालिकाको सहकार्यसँगै गाउँपालिका बासीलाई व्यावसायिक कृषि, तथा पशुपक्षीमा आधारित उद्यम व्यवसाय, वन (जडिबुटी, वनपैदावार) मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रबर्द्धनमा आधारित उद्यम व्यवसाय, उत्पादनमूलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामूलक उद्यम व्यवसायलगायत क्षेत्रका उद्योग खोली उद्यमी बन्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
साथै, पहिचान गरिएका क्षेत्रमा बैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकहरुलाई उद्यम व्यवसायमा आकर्षित गर्न, स्थानीयलाई स्वरोजगार, व्यावसायिक एबं उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न, तथा उद्यमशीलता विकासका लागि आवश्यक सहयोग प्रदान गरी गाउँपालिकाको विशेषतामा आधारित लघु, घरेलु, साना एवं मझौला व्यवसायको बिकास एवं प्रबर्द्धन गर्न सहयोग पुग्ने विश्वास गाउँपालिकाको छ ।
उक्त गाउँपालिका क्षेत्रका गाउँपालिकाको अध्यक्ष उद्यमशिलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशील बन्न चाहने गाउँ बासी एवं सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि ब्याज अनुदान कार्यविधि २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सिप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी व्यावसायिकता अभिबृद्धि गर्न, जनजाति, सीमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले लिसंखुपाखर गाउँपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको हो ।
गाउँपालिकाद्वारा एक कोष खडा गरी नेपाल बैंकको पाँचखाल शाखामा ग्यारेण्टीको रुपमा रकम जम्मा गर्दै जाने, बैंकद्वारा छनोट भएका उद्यमी एवं व्यवसायीलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र उक्त कर्जा समयमा चुक्ता गराउन गाउँपालिकाद्वारा सहयोग गर्ने बताइएको छ ।
हाल नेपाल बैंकले देशभर १८९ वटा शाखा, १२५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।