आइतबारदेखि जिल्ला प्रशासनको सबै सेवा सुरु, बार हेरेर आउन कार्यालयकाे आग्रह

 
काठमाडौंको जिल्ला प्रशासन कार्यालयले असोज ४ गते ( आगामी आइतबार)देखि आफ्ना सबै सेवा सुरू गर्ने भएको छ । कार्यालयले बिहीबार सूचना प्रकाशित गरी यसअघि स्थगित भएका सेवा पूर्ववत् सुचारु हुने जानकारी दिएको हो ।

कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी प्रत्येक सेवामा दिनमा २० जनाभन्दा नबढ्ने गरी बढी सेवाग्राहीको काम थालिने सूचनामा उल्लेख छ ।

काठमाडौं उपत्यकामा संक्रमण बढेसँगै प्रशासनले सेवाहरू स्थगित गरेको थियो । सूचनामा नागरिकता प्रमाणपत्र, प्रतिलिपि, नाबालिक परिचय पत्र, राहदानी, हातहतियार दर्तालगायत सेवाका लागि पालिका अनुसार दिन तोकिएको छ ।

सो अनुसार अब आइतबार, मंगलबार र बिहीबार काठमाडौं महानगरपालिकालाभित्रका नागरिकलाई मात्र सेवा दिइनेछ ।

त्यस्तै, सोमबार कीर्तिपुर, नागार्जुन, चन्द्रागिरी, बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनहरा तथा शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका लागि सेवा दिइने सूचनामा उल्लेख छ ।

त्यसैगरी पत्रपत्रिका, संघ संस्था दर्ता र नवीकरणका लागि पनि दिन तोकिएको छ । संघ संस्था सोमबार र बुधबार, नवीकरण हुनेछ भने आइतबार, मंगलबार र बिहीबार पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधन बिहीबार मात्र हुने बताइएको छ । त्यस्तै, प्रतिलिपि पत्राचार प्रत्येक दिन ४ बजेपछि  मात्र हुने सूचनामा उल्लेख छ ।
यसबाहेक शान्ति सुरक्षाको निवेदन, मुद्दा सम्बन्धी काम, सरकारी कार्यालय, आयोजनासँग सम्बन्धित समन्वय र छलफल, विपद् व्यवस्थापन सम्बन्धी काममा भने कुनै अवरोध नहुने प्रशासनले जनाएको छ ।



सेवा सुचारु भए पनि मानिसहरूको भीडभाडलाई अत्यन्तै कम गरिनेछ । सम्बन्धित सेवाग्राही बाहेकलाई कार्यालय प्रवेशमा समेत रोक लगाइएको छ ।

नागरिकता र नाबालक परिचय पत्र बनाउँदा सेवाग्राही र सनाखत गर्ने एक जना मात्र कार्यालय छिर्न पाउनेछन् । कार्यालय प्रवेशद्वारमा टोकन सिस्टम लागू गरिएको छ ।



कार्यालय छिर्दा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ भने रुघाखोकी, ज्वरोजस्ता लक्षण देखिएका सेवाग्राहीलाई प्रवेश दिइने छैन ।

मास्क नलगाई कार्यालय छिरे संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने प्रशासनले जनाएको छ ।

  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १४:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया