सचिवालय बैठकअघि प्रचण्ड–नेपाल भेटवार्ता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न नेता नेपाल खुमलटारमा पुगेका थिए । 

प्रचण्ड र नेपालबीच करिब एक घण्टा लामो वार्ता भएको नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ । शुक्रबार बस्ने नेकपा सचिवालय बैठकका एजेन्डा र दुई अध्यक्षका बीचमा पार्टी स्थायी समितिका बैठकका निर्णय कार्यान्वयनका विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ ।

शुक्रबार बस्ने सचिवालय बैठकमा मन्त्रिपरिषद्को पुनर्गठन, संवैधानिक नियुक्ति लगायतका विषयमा सुझाब लिने र पार्टीको बाँकी रहेका एकता प्रक्रियाका विषयमा टुंगो लगाउने विषयमा छलफल गर्ने तयारी रहेको छ । नेता नेपाल निकट स्रोतले भन्यो, ‘भोलि बिहान बोलाइएको सचिवालय बैठकका एजेन्डा, संवैधानिक नियुक्ति, पार्टी निर्णय कार्यान्वयन लगायतका विषयमा केन्द्रित रहेर कुराकानी भएको छ ।’

छलफलका क्रममा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारका रूपमा नियुक्त गर्ने सम्मका निर्णयमा पार्टी अध्यक्षद्वयका बीचमा संवाद भए नभएको विषयमा नेता नेपालले अध्यक्ष प्रचण्डसँग जिज्ञासा राखेका थिए । त्यस्तै महत्त्वपूर्ण संवैधानिक तथा राजनीतिक नियुक्ति पार्टीको सचिवालय सदस्यका बीचमा छलफल गर्ने, त्यसपछि दुई अध्यक्षका बीचमा समन्वय गर्ने र आपसी सहमतिमा नियुक्ति लगायतका काम गर्ने समझदारी सहितको प्रस्ताव भदौ २६ को स्थायी समिति बैठकले गरेको थियो ।

पार्टीले नेताका नाममा खोलिएका र पार्टी नेताहरू जोडिएका प्रतिष्ठानहरूका गतिविधि नियन्त्रण र नियमन गर्न कार्यदल बनाउने र त्यसले दिएको सुझावका आधारमा मात्र निर्णय लिने र त्यस अवधिसम्म कुनै गतिविधि नगर्न भने पनि मदन भण्डारी फाउन्डेसनका नाममा गतिविधि जारी नै राखेको विषयमा पनि दुई नेताका बीचमा सामान्य परामर्श भएको बताइएको छ । 





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १५:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया