नेपालमा प्याजको मूल्यमा वृद्धि भारतीय मिडियामा चर्चा

नेपालमा यो साता प्याजको मूल्यमा दोब्बर वृद्धि भएको छ । भदौ महिनाको तेस्रो सातासम्म बजारमा प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा प्याज बिक्री भइरहेको थियो । तर, भदौ चौथो साता पुग्दा यो मूल्य बढेर सय रुपैयाँ पुग्यो । असोज १ गते कालीमाटी फलफूल तथा तरकारी बजारले नै प्याजको थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ तोकेको छ ।

नेपालमा यसरी अचानक प्याजको मूल्य बढ्नुको कारण छिमेकी मुलुक भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँनु हो । विश्वमा धेरै प्याज उत्पादन गर्ने देशमध्ये भारत दोस्रो नम्बरमा पर्छ भने विश्वभरि धेरै प्याज निर्यात गर्ने देशमा तेस्रो नम्बरमा पर्छ । भारतबाट बङ्गलादेश, श्रीलङ्का, नेपाल र मलेसियामा ठूलो परिमाणमा प्याज निर्यात हुन्छ ।

तर, भारतीय सरकारले कुनै सूचना नदिई सेप्टेम्बर, १४ मा प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । यसले नेपाल लगायत भारतबाट प्याज निर्यात हुने सबै देशहरूमा प्याजको मूल्यमा प्रभाव पारेको छ । भारतले भने प्याजको निर्यातमा प्रतिबन्ध लगाउनुको कारण कर्नाटक, मध्यप्रदेश र महाराष्ट्र भएको भारी वर्षाले प्याजखेतीमा पुर्‍याएको क्षतिलाई देखाएको छ । वर्षाले पुर्‍याएको क्षतिका कारण भारतमा नै खपत हुनेभन्दा कम परिमाणमा प्याज उत्पादन भएकाले निर्यातमा प्रतिबन्ध लगाएको समाचार भारतीय सञ्चार माध्यमहरूले प्रसारण गरिरहेका छन् ।

भारतको मिडियामा अहिले यो विषयको व्यापक चर्चा चलिरहेको छ । लाइभ हिन्दुस्तान नामको अनलाइन पत्रिकाले भारतले निर्यातमा प्रतिबन्ध लगाउनाले ‘प्याजको आँसु रुन थाल्यो नेपाल’ नामको शीर्षकमा समाचार प्रकाशन गरेको छ ।

भारतकै अर्को अनलाइन पत्रिका इकोनोमिक टाइम्सले भने भारतका किसानहरू प्याज निर्यातमा लगाएको प्रतिबन्धको विरोधमा उत्रिएको खबर प्रकाशन गरेको छ । इकोनोमिक टाइम्सको खबर अनुसार महाराष्ट्र सरकारले निर्यातमा प्रतिबन्ध हटाउन केन्द्रीय सरकारलाई पत्र लेखेको छ ।

भारतको राष्ट्रवादी कांग्रेस पार्टीले सरकारको यो कदमको विरोध गर्दै किसानले सबैभन्दा धेरै मूल्य पाउने समयमा प्याजको निर्यात रोक्नु महापाप भएको बताएको छ । किसानलाई यो अन्यायबाट बचाउन आन्दोलन गर्ने समेत बताएको छ । निर्यातमा रोक लगाएपश्चात् भारतमा भने प्याजको मूल्य घटेको छ ।





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १६:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया