के हो मलमास, के गर्न हुन्छ के हुँदैन ?

विक्रम संवतअनुसार आज (शुक्रबार) बाट मलमास सुरु भएको छ । चन्द्रमास अनुसार अबको एक महिना अर्थात् असोज ३० गतेसम्म मलमास रहनेछ  । मलमासलाई अधिकमास पनि भनिन्छ ।

मानव समुदायले समयको निर्धारणका लागि प्रमुख रूपमा तीन प्रकारका पात्रो प्रचलनमा ल्याएको देखिन्छ । ती हुन्, विक्रम संवत, ग्रिक संवत र हिज्री संवत । तीनवटै पात्रो अर्थात् क्यालेन्डरमा ७ बार र १२ वटै महिना रहेका छन् ।

इस्लाम धर्मावलम्बीहरु हिज्री संवत (अरविक क्यालेन्डर) का आधारमा आफ्ना चाडपर्वहरू मनाउने गर्छन् । यसमा मूलतः चन्द्रमाको गतिलाई आधार मानिएको पाइन्छ । चन्द्रमा अनुसार महिना निर्धारण गरिएकाले ती महिनालाई चन्द्रमास भनिन्छ । यसमा हरेक महिना २९–३० दिनका मात्रै हुन्छन् । चन्द्रमास अनुसार ३५४ दिनको एक वर्ष हुन्छ । यसैकारण हरेक वर्ष इस्लाम धर्मका चाडपर्वहरू ११ दिन अघि सरेको पाइन्छ ।

ग्रिक क्लालेन्डर मान्नेहरूले सूर्यलाई आधार मानेर आफ्ना चाडपर्वहरू मनाउने गर्छन् । यसमा सूर्यलाई पृथ्वीले गर्ने परिक्रमाका आधारमा महिना निर्धारण गरिएको हुन्छ । सूर्यलाई आधार मानेर महिना निर्धारण गरिएकाले यसलाई सूर्यमास भनिन्छ । सूर्यमासअनुसार हरेक ३६५ दशमलव २५ दिनको एक वर्ष हुन्छ । त्यसैले सधैं २८ दिनको हुने फेब्रुअरी महिना हरेक चार वर्षमा भने २९ दिनको हुन्छ । जुन वर्ष फेब्रुअरी महिना २९ को हुन्छ त्यो वर्ष ३६६ दिनको हुन्छ ।

विक्रम संवतमा चन्द्रमा र सूर्य दुवैलाई आधार मानेर समय निर्धारण गरिएको पाइन्छ । चन्द्रमास अनुसार हरेक महिना २९ दिन १२ घण्टा ४४ मिनेट २४ सेकेन्डको हुन्छ । सूर्यमास अनुसार २९ देखि ३२ दिनका महिना हुन्छन् । सूर्यमास अनुसार ३६५ को एक वर्ष र चन्द्रमास अनुसार ३५४ दिनको एक वर्ष हुनाले चन्द्रमास र सूर्यमास दुवैलाई समायोजना गर्दा हरेक ३२ महिना १६ दिनमा २९ दिन अतिरिक्त आउँछन् । यही अतिरिक्त समयलाई अधिकमास अर्थात् मलमास भनिन्छ । विक्रम संवतको सूर्यमास अनुसार हरेक वर्ष ३६५ कै हुन्छन् तर मलमास परेको वर्ष भने ३६६ दिनको हुन्छ ।

वैदिक परम्परा अनुसार नेपालको इतिहासमा छैटौं शताब्दीदेखि सोह्रौं शताब्दीसम्मका अभिलेखहरूमा असार र पुसमा मात्र अधिकमास पाइन्छ । १७ औं शताब्दीपछि भने तेह्रौं शताब्दीको सिद्धान्तशिरोमणिको ज्योतिषफललाई आधार मानी फागुनदेखि कात्तिकका जुनकुनै पनि महिनामा अधिकमास पर्ने गरेको देखिन्छ । सामान्य सिद्धान्तलाई लिएर हेर्ने हो भने जुन महिनामा दुईवटा औंसी पर्छन् यही महिना अधिकमास पर्छ ।



पुरुषोत्तम मास

शास्त्रीय मान्यता अनुसार बाह्र महिनाका देवता १२ सूर्य रहेका हुन्छन् । यो अधिकमास भएकाले यसको कुनै प्रमुख देवता नहुँदा भगवान् कृष्णले यो मेरो महिना हो भनेकाले यसलाई पुरुषोत्तम मास भनिएको उल्लेख पाइन्छ । त्यसैले अधिकमासमा भगवान् विष्णुको विशेष पूजा गर्ने प्रचलन पाइन्छ ।



के गर्न हुने के गर्न नहुने

मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय होइन । चन्द्रमास र सूर्यमासलाई समायोजन गर्दा मलमास आउने गर्दछ । ग्रिक क्यालेन्डरमा ‘लिप इयर’को सहायताबाट वर्षलाई समायोजन गरिन्छ । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चान्द्रमासको गतिमा निर्धारण हुने गर्दछ ।

अधिक मासमा मृत्यु वा जन्मलाई वार्षिक रुममा मनाउन समय केलाउनु पर्ने हुन्छ । यसै हुनाले पनि यस महिनालाई नराम्रो हो भन्ने गरेको पाइन्छ । जन्म र मृत्यु स्वाभाविक प्रक्रिया हो अधिकमासमा जन्म वा मृत्यु भएमा अधिक पक्षको जुन तिथि छ, शुद्ध पक्षको त्यही तिथि कायम हुने प्रमाण पाइन्छ । 

अधिक मासमा कुनै पनि शुभ कर्मका साइतहरू हुँदैनन् । प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मल मासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित छन् । यसै हुनाले महिनाभरि कुनै पनि विवाह, व्रतवन्ध लगायतका शुभकर्म गरिँदैनन् ।

विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोमजस्ता कर्म अधिकमासमा गर्नु हुँदैन भनिएको छ । यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा हो र यसबाट मोक्षसम्म मिल्नसक्ने बताइएको छ । दैनिक रूपमा गरिने नित्य पाठपूजामा भने कुनै छेकथुन हुँदैन ।

अधिक मासमा विवाह गरेमा गृह सुख हुँदैन गर्भाधान गरेमा बच्चा रोगी जन्मन्छ । नव विवाहित दाम्पत्तीहरूका लागि अधिक मासमा अलग बस्नु राम्रो हुन्छ भन्ने केही शास्त्रीय मान्यता छ । यो समयमा यौनसम्पर्क गरे पतिको आयु क्षीण हुन्छ भन्ने उल्लेख पाइन्छ । तर, वैदिक परम्परामा भने यसको कुनै कुरा उल्लेख पाइँदैन । 

मत्स्यनारायणमा मेला

काठमाडौंबाट लगभग ८ किमि दक्षिण पश्चिम भेगमा पर्ने मत्स्यनारायणको प्रस्तर मन्दिरमा मलमासमा एक महिना लामो मेला लाग्ने गर्छ । मलमासको अवधिभर यस स्थानमा देशका विभिन्न भागबाट हजारौं भक्तजनहरु दर्शनार्थ आउने गर्दछन् । तसर्थ मलमास अवधिभर कीर्तिपुरबाट चार किमि दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । यो वर्ष कोरोनाको महामारीकै बीचमा मलमास परेको र मन्दिर खुला नहुँदा मेला लाग्ने सम्भावना छैन ।

  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार १२:३०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया