गृहमन्त्री रामबहादुर थापाले बैशाखयता प्राकृतिक प्रकोपबाट मृत्यु हुनेहरुको सङ्ख्या अहिलेसम्म ३७४ पुगेको संसदीय समितिलाई जानकारी दिएका छन् । त्यस्तै, घाइते ४२० र वेपत्ता १०१ जना भएको उनको भनाई छ ।
‘राज्य व्यवस्था तथा सुशासन समिति’को शुक्रबार बसेको बैठकमा उनले भने, ‘यस वर्षको मनसुनले ठूलै क्षति पुर्याएको छ, जनधनको ।
यस वर्ष प्रि–मनसुन बैशाख महिनादेखि नै सुरु भयो । यस वर्ष पहिरोबाट मृत्यु हुनेहरुको सङ्ख्या २७१ पुगेको छ, अहिलेसम्म । ६५ जना वेपत्ता भएका छन् । घाइतेहरू २०६ जना पुगेका छन् । बाढीबाट अहिलेसम्म, यस वर्ष विगत वर्षको तुलनामा कम क्षति भएको छ । जसमा ३९ जनाको निधन भएको छ । र, बाढीबाट ३६ जना वेपत्ता भएका छन् । र, घाइतेहरू ११ जना छन्।
चट्याङबाट पनि निकै क्षति भएको छ, यस वर्ष । ६४ जनाको मृत्यु भएको छ । र, घाइतेहरू २०३ जना भएका छन् । र, कुल यसमा मृत्यु हुनेहरु ३७४ अहिलेसम्ममा । डाटा अलिकति अपेडट गर्नुपर्ने पनि छ । तर अहिलेसम्म प्राप्त तथ्याङ्क अनुसार ३७४ जना । यो निकै ठुलो सङ्ख्या हो । र, वेपत्ताहरु १०१ जना भएका छन् । र, घाइते ४२० जना भएका छन् ।’
यस वर्ष मनसुनबाट प्रभावित जिल्लाहरु ४९ पुगेको थापाले जानकारी दिएका छन् । पूर्णरुपमा क्षति भएका घरहरुको सङ्ख्या ४८२ रहेको उनको भनाई छ । ‘तत्काल राहत पनि हामीले उपलब्ध गराएका छौँ । नगदको रुपमा ५ करोड ६९ लाख रुपैयाँ उपलब्ध गराएका छौँ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।