बाढी, पहिरो र चट्याङले जेठ यता ३ सय ३९ जनाले ज्यान लियो

गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र चट्याङका कारण जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपस्थित भएका थापाले देशभर गत वर्षभन्दा कम क्षति भए पनि यस वर्ष जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको जानकारी दिए । थापाले प्रकृतिक प्रकोपका कारण एक सयभन्दा बढी मान्छे बेपत्ता भएको पनि बताए  । 

थापाका अनुसार प्राकृतिक प्रकोपका कारण २ सय ५८ जना घाइते भएका छन् भने ४ सय ८२ घर पूर्ण रुपमा क्षति भएको छ । प्राकृतिक प्रकोपमा परेकाहरुको व्यवस्थापनका लागि ‘विपद जोखिम व्यवस्थापन कोष’ बाट ५ करोड ६९ लाख रुपैयाँ राहत रकम निकासा गरी उपलब्ध गराइएको थापाले जनाएका छन् । प्राकृतिक प्रकोपबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माणका लागि गृहमन्त्रालयले टोली गठन गरी अध्ययन गरिरहेको र प्रतिवेदन तयार भएपछि काम सुरु गरिने थापाले आश्वस्त पारे ।

उनले जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडितहरूको इच्छाअनुसार सुरक्षित स्थानमा आवास निर्माण गर्ने गरी दुई प्रकृतिको नीति अनुसार काम गरिएको पनि स्पष्ट पारे । जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि पूर्व तयारीको कामलाई विशेष जोड दिइए पनि अनुमान नगरिएका ठाउँमा समेत बाढी पहिरो जाँदा क्षति बढी भएको बताए । बाढी पहिरो जानुको मुख्य कारण अव्यवस्थित रुपमा विना मापदण्ड वैधानिक सर्भे विपरीत सडक बाटो खोल्ने क्रियाकलाप पनि मुख्य रहेको बताए । त्यसको नियन्त्रणका लागि मापदण्ड अझबढी कडा बनाउने विषयमा मन्त्रालयमा छलफल भइरहेको समेत उनले जनकारी दिए ।





  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार १९:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया