ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या : भुसाल
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा शुक्रबार बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल । फरकधार

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरूको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन् ।

साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडि बढेको भए पनि ठेकेदारहरूले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने दाबी गरे ।

विगतमा ढिला टेन्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेन्डर आह्वान गरी प्रकृया अगाडि बढाउँदा पनि ठेकेदारहरूका लागि समस्या उत्पन्न भएको उनले जानकारी दिए । उनले भने, ‘टेन्डर गरेर दुई तीन महिनाको समय दिइएको थियो । त्यसमा सम्झौता गर्न आएनन् । सम्झौता गरेपछि एलसी गर्न आएनन् । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्‍यो । सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ । असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आएर वितरण हुनुपर्ने थियो । साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण गर्‍यो । त्यसैले कोरोनाका कारण समस्या भएको होइन ।’

मन्त्री भुसालले यो वर्ष विगतभन्दा बढी खेती भएकाले मलको माग पनि बढी भएको बताए । कोरोनाका कारण श्रमशक्ति गाउँमा भएपछि खेती पनि बढेको उनले दाबी गरे । विगतमा किसानले मल अभाव हुँदा सीमाक्षेत्रबाट आफैं ल्याउने गरे पनि यो वर्ष लक डाउनका कारण सम्भव नभएपछि समस्या भएको उनको भनाइ थियो । 

कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो । दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६/०७७ का लागि आह्वान भएको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार २५—२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए । 





  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार १९:३३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया