बञ्चरेडाँडामा फोहोर विसर्जन कात्तिकदेखि
आइतबार बञ्चरेडाँडामा निमार्णधीन स्यानेटरी ल्याण्डफिल्ड साइटको अनुगमनका क्रममा मन्त्री मानन्धर

वर्तमान सरकारले जनताको चाहना बमोजिम विकासका कामलाई तिब्रता दिइरहेको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको भनाइ छ । आइतबार बन्चरेडाँडामा निर्माणाधीन स्यानेटरी ल्याण्डफिल्ड साइटको अनुगमनका क्रममा मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अबको केही वर्षमा मुलुकमा विकासका गतिविधि तिब्र हुने र केही वर्षमा मुलुकको कायापलट हुने बताए ।

प्रधानमन्त्री ओलीको कल्पना र जनताको चाहना अनुसार समृद्ध नेपाल सुखी नेपालीको संकल्प पूरा गर्न आफूहरू लागिपरेको मन्त्री मानन्धरले बताए । कोभिड संक्रमणका बीच पनि विकासका कामलाई तिब्रता दिइएको बताउँदै उनले आगामी आर्थिक वर्षसम्म धेरै परिणाम देखिने दाबी गरे । जनताको चाहाना र समृद्धिको सपना पूरा गर्न वर्तमान सरकार मेहनतका साथ लागिरहेको उनको भनाइ थियो ।

मन्त्री मानन्धरले असोज महिनाभित्र ल्याण्डफिल्ड साइटको पहिलो फेज निर्माण सकिने बताउँदै कात्तिकदेखि फोहर विसर्जन हुने जानकारी दिए । कोभिड संक्रमणका कारण निर्माणमा केही ढिलाइ भएको बताउँदै मन्त्री मानन्धरले अब एक महिना भित्र साइड निर्माण सकिने दाबी गरे ।

सकेसम्म दशैँअघि नै फोहर विसर्जन थालिने बताउँदै मन्त्री मानन्धरले आवश्यक पूर्वाधार निर्माण तिव्र गतिमा भइरहेको जानकारी दिए । पहिलो फेजका लागि ३४ करोडको ठेक्कामा काम भइरहेको छ ।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि दीर्घकालीन योजनासहित सरकारले स्यानेटरी ल्याण्डफिल्ड साइट बनाइरहेको छ । सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्ड फिल्ड गर्दा कम्तिमा ५० वर्षका लागि यो स्थानमा उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने मन्त्री मानन्धरले जानकारी दिए ।

कोभिड संक्रमणका कारण केही ढिलाइ भएको बताउँदै मन्त्री मानन्धरले कामलाई तिब्रता दिन पनि निर्देशन दिएका छन् । 



मन्त्री मानन्धरले गुणस्तर कायम हुने गरी तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन दिंदै उपत्यकाको सहरी व्यवस्थापनका लागि बन्चरेडाँडा लाइफलाइन भएको दाबी गरे ।

निर्माण कम्पनी सप्तकोशी जलाधारका साइट इन्चार्ज कमल पोखरेलले पहिलो फेज निर्माणको काम ८५ प्रतिशतसम्म सकिएको र असोज अन्तिमसम्ममा निर्माण सकिने जानकारी दिए । पोखरेलले निर्माणका क्रममा कोभिड र वर्षा बाधक बनेको बताउँदै अब एक महिनामा पहिलो फेज सरकारलाई हस्तान्तरण गरिने बताए ।
 



  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १४:१६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया