डा. केसीको १९ ‍औं अनशन
अब अस्पतालबाटै सत्याग्रह

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले अब अस्पतालबाटै सत्याग्रह गर्ने भएका छन् । उनलाई प्रहरीले शनिबार राति अस्पताल पुर्‍याएको हो । केसीलाई शनिबार राति १०:३० बजे अनशन बसेको बनबिरा मष्टो थानको मन्दिरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

केसीलाई उनको इच्छाविपरीत प्रहरीले जबरजस्ती अस्पताल लगेको उनका सहयोगी तथा सामाजिक अभियन्ता प्रितम सुवेदीले जानकारी दिएका छन् ।

‘उहाँले मलाई १०:४० मा आफूलाई प्रहरीले जबरजस्ती उठाएर अस्पताल लगिरहेको कुरा आत्तिँदै भन्नुभयो,’ सुवेदीले फरकधारलाई जानकारी गराए ।

प्रहरीले धरपकड गर्दै अस्पताल पुर्‍याए पनि डा. केसीले आफ्नो अनशन स्थगित नगर्ने बताएका छन् । विगत ७ दिनदेखि अनशनरत केसीले अस्पतालबाटै आफ्नो सत्याग्रह जारी राख्ने छन् ।

डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक, कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन–पाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउनु पर्ने ६ बुँदे मागसहित आमरण अनशनमा छन् ।

जुम्लाको चन्दननाथ ६ रानिचौरमा केसीको यो १९ औं अनशन हो । उनले भदौ २९ बाट यो अनशन सुरु गरेका हुन् ।



विगतमा सरकारले आफूसँग पटक–पटक गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै आफू सत्याग्रह गर्न बाध्य भएको बताएका छन् ।

डा. केसीले यसअघि भदौ ११ गतेदेखि सुरु गर्ने भनिएको १९ औं आमरण अनशनको मिति थप एक साता पर सारेका हुन् । प्रहरीले डा. केसीलाई अनशन बस्नमा रोक लगाउँदै आएको थियो । उनलाई अनशन बस्न नदिन र बाहिर जान नदिने प्रहरी र सशस्त्र प्रहरीले उनी बसिरहेको होटल बाहिर निगरानीसमेत गरिरहेको थियो ।



प्रहरी र सशस्त्र प्रहरीले उनलाई हिँडडुलमा रोक लगाउँदै गरेको भिडियो केही साता अघि सामाजिक सञ्जालमा भाइरल भएको थियो । केसीले १६ औं अनशन पनि जुम्लामा गरेका थिए । 

डा. केसीको जीवनरक्षाका लागि दबाब कार्यक्रम 

डा. केसीको जीवनरक्षाको माग गर्दै काठमाडौंको माइतीघरमा दैनिक प्रदर्शन भइरहेका छन् । त्यस्तै, जुम्लामा पनि शनिबार केसीको जीवन रक्षाको माग गर्दै दीप प्रज्वलन गरिएको छ । जुम्लामा शुक्रबार पनि केसीको समर्थनमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । डा. केसीको अनशनस्थल जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ–६ रानीचौरको धर्मशालामा व्यावनरमा केसीको मागप्रति र उनको जीवन रक्षाका लागि एक्यबद्धता जनाउँदै हस्ताक्षर अभियान सुरु गरिएको छ ।
यसअघि डा. केसी अनसन बसेपछि उनलाई आइसियूमा राखिनु पर्ने चिकित्सकले बताएका थिए । तर, डा. केसीले यसलाई अस्वीकार गर्दै आएका छन् । 

  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १५:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया