मन्त्रिपरिषद् पुनर्गठन गरिने, सोमबार पुनः छलफल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक चार घण्टा बसेर सम्पन्न भएको छ । सत्तारुढ नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनले प्रवेश पाएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल भएको छ । 'यसबारेमा नीतिगत छलफल भएको छ,' प्रवक्ता श्रेष्ठले भने, 'सरकारलाई प्रभावकारी बनाउने लक्ष्यलाई अघि बढाउने सन्दर्भमा विभिन्न विकल्पमा छलफल भएका छन् ।' नेता श्रेष्ठका अनुसार व्यक्तिका नामका विषयमा भने बैठकमा छलफल भएको छैन । कुन व्यक्तिलाई के का आधारमा मन्त्री बनाउने भन्ने विषयमा छलफल भएको भए पनि व्यक्तिका बारेमा भने प्रवेश नगरिएको उनले बताए ।

नेकपा पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकमा नेताहरुले यसबारे आ-आफ्नो धारणा राखेका छन् । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ । यस विषयमा विभिन्न कोणबाट छलफल भएको छ भने, सोमबार बस्ने बैठकमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिस डाँडामा बसेको हो । गत भदौ २६ गते बसेको स्थायी कमिटीको निर्णयलाई कार्यान्वयन गर्न सचिवालय बैठक बसेको हो । 

बैठकमा ४ कार्यसूचीबारे छलफल गरिएको छ । बैठकका लागि चारवटा कार्यसूची तय गरिए पनि पहिलो कार्यसूचीमा मात्र छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । 

यसैगरी संवैधानिक राजनीतिक नियुक्ति गर्नका निम्ति आधार तय गर्न कार्यसूची तय भएको छ । यसका साथै एकीकरणका बाँकी कामका विषयमा पनि कार्यसूची तय भएको छ । संगठन र विभागका निर्णयबारे पनि कार्यसूची तय भएको प्रवक्ता श्रेष्ठले बताए ।



संवैधानिक पदमा रिक्त रहेका पदहरुका विषयमा समेत सचिवालय बैठकमा छलफल भएको छ । 

अख्तियारलगायत महत्त्वपूर्ण निकायमा ४२ पद रिक्त  रहेका छन् । सोमबार दिउँसो १ बजे बस्ने बैठकमा यसबारे छलफल हुनेछ ।



  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १६:३१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया