गतसातादेखि निरन्तर उकालो लागेको सेयर बजारमा सोमबार करेक्सन देखिएको छ । गत साताको मंगलबार सामान्य घटेको नेप्से त्यसपछि लगातार बढेको थियो ।
सोमबार १५८७.७५ अंकमा खुलेको बजार त्यसपछि लगातार ओरालो लाग्यो । दिनभर उतारचढाव भएको बजार अन्तिममा ६.१२ अंकले घटेर १५६९.०६ अंकमा बन्द भयो ।
सोमबार बजार सामान्य अंकले घटे पनि कारोबार रकम भने साढे २ अर्ब नाघेको छ । सोमबार नेप्सेमा ६१ हजार ९३६ वटा कारोबारमा ८५ लाख ६५ हजार ०७८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।
१९५ कम्पनीको सेयर कारोबार भएको सोमबार उत्पादनबाहेक सबै समूहको सूचक घटेको छ । उत्पादन समूहको सूचक भने ०.४ प्रतिशतले बढेको छ । बैंकिङ समूहको सूचक ०.३४ प्रतिशतले घटेको छ भने व्यापार, होटेल, वित्त कम्पनी र म्युचुअल फन्ड समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
सोमबार युनाइटेड इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्दा लिबर्टी इनर्जी, रैराङ हाइड्रोपावर र घलेम्दी हाइड्रपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
सोमबार सर्वाधिक कमाउनेको सूचीमा नेसनल हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, सिन्धु विकास बैंक र नाडेप लघुवित्तका लगानीकर्ता अगाडि छन् ।
कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा छ । गत आर्थिक वर्षमा तुलनात्मक रुपमा राम्रो ब्यालेन्स सिट प्रकाशित भएको र उच्च बोनसको आशा र न्यून सेयर मूल्य भएकाले पनि पछिल्लो समय नेपाल बैंक लगानीकर्ताको आकर्षणमा परेको विश्लेषकको भनाइ छ ।
गएका दिनमा बजार लगातार सुधार भइरहेको थियो । बैंकिङ तरलता बढ्दै गर्दा बजार मूल्य भने बढिरहेको छ । बढिरहेको बजारबाट लगानीकर्ताले नाफा बुक गर्न खोज्दा सूचकमा गिरावट आएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।