विद्यालय भवन निर्माणको विषयमा विवाद हुँदा गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रेसुङ्गा–१२ मा रहेको रानीपोखरी निम्न माध्यमिक विद्यालयको भवन निर्माणको विषयमा कांग्रेस र प्रहरीबीच झडप भएको हो ।
यसअघि भवन निर्माणको विषयमा नेकपा कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच विवाद हुँदा नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
आफ्ना कार्यकर्तालाई गम्भीर घाइते हुने गरी कुटपिट गर्ने नेकपा कार्यकर्तालाई कारबाही गर्न माग गर्दै नेपाली कांग्रेस गुल्मी आन्दोलनमा उत्रिएको छ । सो घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै कांग्रेसले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएको थियो ।
आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गर्न खोजेपछि रोक्ने प्रयास गर्दा प्रहरी र उनीहरुबीच झडप भएको हो ।
झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, प्रदेश नेता पूर्ण केसीलगायत दर्जनौँ कांग्रेस कार्यकर्ता घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार झडपका क्रममा चारजना प्रहरी पनि घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले घटनामा संलग्न व्यक्तिमाथि मुद्दा दर्ता भइसकेको जानकारी दिँदै कोही पनि व्यक्ति कानुनबाट उम्कन नसक्ने जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।