चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै आएका डा. गोविन्द केसी भोलि अर्थात् मंगलबार काठमाडौं फर्किने भएका छन् । जुम्लामा ८ दिनदेखि अनशनरत डा. केसीले आफ्नो अनशन काठमाडौंमा निरन्तरता दिने निर्णय गरेका छन् । काठमाडौं फर्किनका लागि उनी नेपालगञ्ज पुगेको र भोलि काठमाडौं फर्किने डा. केसीका सहयोगी तथा सामाजिक अभियन्ता प्रितम सुवेदीले जानकारी दिए ।
यसअघिको १५ औं अनशनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रहरीले जबरजस्ती उनलाई काठमाडौं ल्याउन खोज्दा त्यहाँ तोडफोड भएको थियो ।
सुवेदीले केसी काठमाडौं आउने निर्णय गर्नु पछाडिको कारणमा भने, ‘१५ औं अनशनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जे भयो, त्यस्तो स्थिति फेरि नदोहोरियोस् भनेर उहाँ आफैं काठमाडौं आउन लाग्नु भएको हो ।’
यसका अलावा त्यहाँ असुरक्षित महसुस गरेकाले पनि उनले काठमाडौंमै सत्याग्रह गर्ने निर्णय गरेको सुवेदी बताउँछन् ।
डा. केसीलाई प्रहरीले शनिबार राति उनी अनशन बसिरहेको जुम्लाको चन्दननाथ– ६ रानिचौरमा रहेको बनबिरा मष्टो नाथको मन्दिरबाट उठाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो ।
डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक, कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन–पाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउनु पर्ने ६ बुँदे मागसहित आमरण अनशनमा छन् ।
यो डा. केसीको १९ औं सत्याग्रह हो । उनी भदौ २९ गतेदेखि अनशनरत छन् । नेपालगन्ज आइपुगेका केसीलाई भेरी अस्पतालको आइसियु कक्षमा राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।