पूर्वप्रशासक भन्छन्– कर्मचारीतन्त्र स्थायी सरकार हो, गुलामी गर्नेलाई प्राथमिकता दिनु हुँदैन

चीनको वुहानमा गत वर्ष डिसेम्बरमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरसका कारण अहिले देश निकै प्रताडित छ । ६५ हजारभन्दा धेरै संक्रमति देशमा भेटिएका छन्, ४ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । 

तर, देशको मुख्य बागडोर सम्हाल्ने सिंहदरबारभित्र भने यो पीडाको आभास कमै गर्न सकिन्छ । किनकि अहिले देशको कर्मचारीतन्त्रको नेतृत्व गर्नेहरु तथा राजनीतिक नेतृत्वका जिम्मेवार व्यक्तिहरु आफ्नो स्वार्थलाई पूरा गर्न निकै लागिपरेका छन् । र, यीमध्ये एक हुन्, मुख्यसचिव लोकदर्शन रेग्मी । 

रेग्मीजस्तै केही सचिवहरु पनि यही अभियानमा अहिले दौडिइरहेका छन् । 

मुख्यसचिव रेग्मीको कार्यकाल सकिन अब धेरै बाँकी छैन । तर, उनले समय नपुग्दै पद छोड्ने हो भने आफू त्यो पदमा पुग्न सकिन्छ भन्ने हेतुका साथ केही सचिवहरु अहिले दैनिक दौडधूपमा लागिरहेका छन् । र, यो दौडधूपलाई साथ दिएका छन्, प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकट केही नेताहरुले । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि यो दौडधूपलाई मलजल गरिरहेका छन् । ज्ञवाली पनि यसमा लाग्नुको कारण हो– उनको मन्त्रालयका सचिव शंकर बैरागी अब मुख्यसचिव बन्ने दाउमा कर्मचारीतन्त्रभित्र ‘नराम्रो खेल’ खेल्दैछन् ।

सचिव बैरागी, पर्यटन सचिव केदारबहादुर अधिकारी अहिलेका मुख्यसचिव लोकदर्शन रेग्मीलाई उनको पदावधि सकिँदै राजीनामा गर्न लगाएर आफूहरु मुख्यसचिवको पदमा पुग्ने दाउमा होमिएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीधा सम्पर्क राख्न सक्ने यी दुई सचिव अहिले ओलीलाई रेग्मीका लागि आकर्षक नियुक्ति दिन कन्भिन्स गरिरहेका छन् । रेग्मी पनि आफ्नो पद र मर्यादाको ख्याल नगरी, विगतका दृष्टान्त बिर्सिएर समयावधि नसकिँदै राजीनामा दिएर सरकारी नियुक्तिको लालसामा पर्न खोज्दैछन् । 



त्यसो त रेग्मीले यसअघि प्रधानमन्त्री ओलीले अष्ट्रेलियाको राजदूत बनाउँछु भन्दा अस्वीकार गरेको स्रोत बताउँछ । 

र, रेग्मीलाई आकर्षक पुरस्कारको लोभ देखाएर बालुवाटारले यसपटक आफू अनुकूल मुख्यसचिवमा चलखेल गर्न सहज हुने योजना बनाउन थालेको स्रोतले फरकधारलाई बताएको छ ।



बिर्सनु हुँदैन, ओली सरकारले नै यसअघि कार्यकाल बाँकी हुँदै एशियाली विकास बैंकको जागिर खान राजीनामा दिएका तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीलाई जागिर छाडेर आउन मात्र भनेको थिएन, उनलाई दिने भनेर निर्णय गरिसकिएको पदक पनि फिर्ता लिएको थियो । हिजो मुख्यसचिवले जे गर्दा दण्ड भोगेका थिए, अहिले त्यही काम अर्का मुख्यसचिवलाई गराएर पुरस्कृत गराउन सचिवहरु नै लागेकाले कर्मचारीतन्त्र अब बेहाल भइसकेको एक पूर्वसचिवले फरकधारसँग बताए ।

तर, मुख्यसचिवजस्तो जिम्मेवार पदमा यसरी राजनीतिक रंग दिँदा थप समस्या आउने पूर्वप्रशासकहरुको अनुभव छ । 

पूर्वगृहसचिव श्रीकान्त रेग्मीले मुख्यसचिवमा जहिले पनि राजनीतिक स्वार्थमा नियुक्त हुने भएकाले कर्मचारीतन्त्रमा समस्या देखिने गरेको बताए । ‘व्यवसायिकरुपमा सक्षम योग्य भन्दा पनि वैचारिकरुपमा निकट रहेकालाई मुख्यसचिव बनाउन खोजिन्छ,’ उनले फरकधारसँग भने, ‘कर्मचारीतन्त्र स्थायी सरकार हो तर राजनीतिक नेतृत्वले हस्तक्षेप गर्दा यसमा समस्या देखिने गरेको छ ।’

देश विकसित बनाउन होस् या अहिलेका विकसित देशमा नै किन नहोस्, कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेप नहुने उनी बताउँछन् । ‘कर्मचारी तन्त्रमा राजनीतिक हस्तक्षेपले परिवर्तन आउनु भनेको देश विकासमा पछाडि धकेलिनु हो,’ उनले भने, ‘कर्मचारी स्थिर भएमा र सक्षम भएमा सरकारले चाहेको रुपान्तरण सजिलोसँग प्राप्त हुन्छ । देश विकासको लागि सरकारबाट कर्मचारीतन्त्रमा हस्तक्षेप हुनु हँुदैन ।’ 

तर, नेपालमा कर्मचारीतन्त्रलाई प्रेडिक्टेबल नबनाएर गिजोलिनुले देश विकासमा बाधा पुग्ने उनले बताए ।

पूर्वमुख्यसचिव विमल कोइरालाको पनि रेग्मीकै धारणामा सहमति जनाए । उनका अनुसार मुख्य तथा जिम्मेवार व्यक्ति छानिदा जहिले पनि व्यवसायिक र सदाचार व्यक्तिलाई छान्नुपर्छ । उनी भन्छन्, ‘आसेपासेभन्दा कामप्रति दक्ष र प्रतिबद्ध मान्छेलाई मुख्य पदमा ल्याउनुपर्छ । चाकरी र आसेपासे गर्नेलाई कर्मचारीतन्त्र भन्दा अन्यत्र ठाउँ लैजानुपर्छ ।’

अर्का एक सचिव चाहिँ नाम नबताउने सर्तमा भन्छन्, ‘अहिले मुख्यसचिवका लागि बालुवाटारले गरेका काम र अन्य सचिवहरुबाट नै भएका काम निकै लज्जास्पद रहेका छन् ।’ उनले मुख्यसचिव रेग्मी पनि यसमा जिम्मेवार देखिनु पर्ने धारणा राखे ।


  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार २३:६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया