चहलको जादू, आइपिएलमा विराटको टिमको विजयी सुरुवात

भारतीय क्रिकेटर विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोरले आइपिएल १३ मा आफ्नो अभियानको सुरुवात जितका साथ गरेको छ ।

युजवेन्द्र चहल र नवदीप सैनीको ‘क्यारिसमेटिक’ बलिङको दममा विराटको टिमले सनराइजर्स हैदरावादलाई १० रनले हराएको हो । बैंगलोरले हैदराबादलाई जितका लागि १ सय ६४ रनको चुनौति दिएको थियो । हैदराबादको टिम चाहिँ १९.४ ओभरमा १ सय ५३ रन बनाएर अलआउट भयो । 

बैंगलोरको यो जितका लागि चहलले तीन, शीवम दुबे र सैनीले दुई–दुई विकेट लिए ।

सोमबार राति भएको खेलमा हैदराबादका कप्तान डेभिड वार्नरको ब्याट चल्न पाएन । उनी ६ रन मात्र बनाएर पेभेलियन फर्किए । 

त्यसपछि जोन बेयरस्टोले मनीष पाण्डेयसँग मिलेर दोस्रो विकेटका लागि ७१ रन जोडे । मनीष ३३ बलमा ३४ रन बनाएर युजवेन्द्र चहलको बलमा आउट भए । 

यही खेलमा बेयरस्टो चाहिँ भाग्यमानी सावित भए । बैंगलोरका फिल्डरले उनलाई तीन तीन पटकसम्म जीवनदान दिए । यसको फाइदा उठाउँदै उनले ३७ बलमा अर्धशतक प्रहार गरे । तर, उनको चम्किँदो ब्याटिङलाई पनि चहलले रोक लगाइदिए । बेयरस्टो ४३ बलमा ६ चौका तथा दुई छक्काको सहयोगमा ६१ रन बनाएर आउट भए ।



बेयरस्टो आउट भएपछिको अर्को बलमा नै चहलले विजय शंकरलाई बोल्ड गरे । उनले त खाता पनि खोल्न सकेनन् । चहलले आफ्ना चार ओभरमा १८ रन मात्र दिएर तीन विकेट लिए ।

१७ ओभरमा शिवम दुबेले प्रियम गर्गलाई पेभेलियन फर्काए । उनले १२ रन मात्र बनाएका थिए । यही ओभरमा अभिषेक शर्मा आउट भएका थिए । उनले त एक रन पनि बनाउन सकेनन् ।



यसभन्दा पहिले बैंगलोरको टिमले २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । रोयल च्यालेन्जर्स बैंगलोरको पारीमा हिरो बने, देवदत्त पडिक्कल । आइपिएलको पहिलो म्याच खेलिरहेका देवदत्तले गजबको आत्मविश्वास देखाए । उनले ४२ बलमा आठ चौकाको सहयोगमा ५६ रन बनाए ।

झन्डै सात महिनापछि मैदानमा उत्रिएका आरसिबीका कप्तान विराट कोहलीले चाहिँ आजको खेलमा खासै राम्रो गरेनन् । उनले १४ रन मात्र बनाउन सके ।

आजको खेलमा सुरुमा सम्हालिएर खेलेका एबी डिभिलियर्सले पछि आफ्नै खेल प्रदर्शन गरे । उनले ३० बलमा ५१ रन बनाए ।

एबी डिभिलियर्स आजको खेलको २० औं ओभरको तेस्रो बलमा आउट भए । आखिरी ओभर गरिरहेका सनराइजर्सका भुवनेश्वरले यो ओभरका बाँकी तीन बलमा एक रन मात्र खर्चिए ।  

त्यसो त आजको खेलमा भुवनेश्वरले निकै किफायती बलिङ गरेका थिए । उनले चार ओभरमा २५ रनमात्र खर्चिए । सनराइजर्सका लागि विजय शंकर, टी नटराजन तथा अभिषेक शर्माले एक–एक विकेट लिए ।

  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार ०:५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया