नौ महिनादेखि केरुङमै सामान, झण्डै २० अर्ब डुब्ने व्यापारीको चिन्ता

गत माघ महिनादेखि चीनको केरुङमा अड्किएको नेपाली व्यापारीको सामान अझै आउन सकेको छैन । चीनमा कोरोना संक्रमण देखिएसँगै रोकिएका मालबाहक कन्टेनर नेपाल आउन सकेका छैनन् । नेपाली व्यापारीले गर्मी मौसमका लागि चीनका विभिन्न सहरमा ‘अर्डर’ गरेको सामान नेपाल आउन नसकेको हो ।

चिनियाँ प्रशासनले कोरोना संक्रमण देखिएपछि सुरुमा औपचारिक रूपमा २ साताका लागि नाका बन्द गरेको थियो । माघ १५ गतेदेखि बन्द गरिएको केरुङ नाका कोरोना संक्रमण बढेको कारण देखाउँदै ६ महिनापछि साउनमा मात्रै खोलिएको थियो । लामो समय कन्टेनरमा सामान रहँदा बिग्रिने जोखिम बढेपछि नेपाली पक्षको पटक पटकको आग्रह पश्चात् गत साउनमा नाका खोलिएको थियो ।

त्यसपछि तीन साताअघि एक जना नेपाली मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि २÷३ दिनका लागि नाका पुनः बन्द गरिएको केरुङ भन्सार कार्यालय तीन साता बित्दा पनि खोलिएको छैन ।

रसुवागढी भन्सार कार्यालयका अनुसार माघ महिनाअघि नै अर्डर गरेको १५ देखि २० अर्ब बराबरको झण्डै २ हजार कन्टेनर सामान केरुङ पारी रोकिएको हो ।

कहिले आइपुग्ला सबै सामान ?

झण्डै ६ महिनापछि साउनमा नाका खोल्दा पनि दैनिक ४ वटा कन्टेनर मात्रै नेपाल आउन अनुमति दिएको थियो । जबकि सामान्य अवस्थामा दैनिक ३० देखि ६० वटा कन्टेनर सामान दैनिक नेपाल आउने गर्थ्यो ।



रसुवागढीबाट २४ किलोमिटर टाढाको केरुङ नाकासम्म नेपाली व्यापारीहरू आफै गएर सामान नेपाल ल्याउने चलन थियो । तर, साउनपछि भने कोरोनाको कारण देखाएर दैनिक ४ वटा कन्टेनर सामान चिनियाँ पक्षले नै मितेरी पुलमा ल्याएर छोड्न थाले । 

४ वटा कन्टेनर सामान निकै कम भएको र केही कन्टेनर बढाउन आग्रह गर्दै चीनसँग पत्राचार हुँदा मितेरी पुलबाट भन्सार विभागसम्म सामान ढुवानीमा संलग्न एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्टेनर पठाउन पुनः रोकिएको हो ।



अहिले चीनबाट लत्ताकपडा, जुत्ता, इलेक्ट्रोनिक सामानसँगै स्याउ लगायतका मालसामान  आयात हुने गर्छ । रोकिएका कन्टेनरमा नेपाली बजारमा बिक्री बितरण हुने स्याउ समेत रहेकाले बिग्रिने जोखिम रहेको व्यापारीहरू बताउँछन् ।

रसुवागढी भन्सार कार्यालयका अनुसार व्यापारीहरूले गर्मी मौसमका लागि मगाएको सामान पनि लामो समयदेखि पारी नै रोकिएको छ ।

सामानसँगै नेपाली व्यापारीका २/३ सय कन्टेनर पनि पारी नै रोकिएका छन् ।

रसुवागढी भन्सार कार्यालयका अनुसार चिनियाँ पक्षको आग्रहमा मितेरी पुलबाट रसुवागढीसम्म सामान ल्याउने ४३ जना मजदुर र चालकहरू मितेरी पुल नजिकै होटलमा बसिरहेका छन् । 

पिसिआर टेस्ट गराएर भन्सार भन्दा ३ किलोमिटर पर ४३ जना ड्राइभर र मजदुर होटलमा बसेको पनि ३ साताभन्दा बढी भइसकेको भन्सार कार्यालयले जनाएको छ ।

‘व्यापारी निकै समस्यामा’

लामो समयसम्म सामान आउन नसक्दा बिग्रने तथा म्याद नाघ्ने समस्या बढेको व्यापारीहरू बताउँछन् । नेपाल चीन उद्योग वाणिज्य संघका महासचिव विवेक पौडेलले भने, ‘रकम समेत तिरिसकेको अवस्थामा लामो समयदेखि सामान रोकिँदा सामानको डेट नै एक्सपायर हुने र पूरै लगानी डुब्ने समस्या सबैभन्दा बढी छ ।’

रसुवागढी भन्सार कार्यालय स्रोतका अनुसार चिनियाँ पक्षले निरन्तर बहाना बनाउँदै नेपाली पक्षलाई दुःख दिने गरेको छ । कार्यालयका एक अधिकृतले भने, ‘नेपाली पक्षले झण्डै २० अर्ब रुपैयाँ तिरिसकेको सामान रोक्नु अन्तर्राष्ट्रिय पारवाहन सम्झौता विपरीत हो । कारण जेसुकै भए पनि यति लामो समयसम्म व्यवस्थापन गर्न सकिन्थ्यो । तर, हाम्रो आग्रहलाई पटकपटक बेवास्ता गर्ने चीनको हेपाहा प्रवृत्ति नै हो ।’ 

ती भन्सार अधिकृतले भने, ‘नेपाली व्यापारीहरूले चीनका विभिन्न क्षेत्रमा एलसी मार्फत् १५ अर्बभन्दा बढी रकम पठाइसकेका छन् । त्यो अर्डरको सामान अहिलेका लागि नेपाली भूमिसम्म पुर्याइदेऊ भन्ने कुरा मात्रै नेपालको आग्रह हो ।’ 

रोकिएको सामान नेपाल ल्याउनका लागि नेपालबाट ठोस पहल गर्ने गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १५:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया