कोरोना उपचार खटिएकी नर्स भन्छिन्– संक्रमितसँग बसउठ गर्दागर्दै डर त भागिसक्यो
फरकधार / ६ असोज, २०७७

पूरै विश्व अहिले कोरोनाभाइरसको चपेटामा छ । अनि कोरोना चपेटाले आम जीवनमा प्रभाव पारिरहँदा विश्वभर एउटा प्रचलन पनि सुरु भएको छ । त्यो हो, फ्रन्टलाइनमा काम गर्नेहरुको सम्मान स्वरुप ‘क्ल्याप’ गर्ने प्रचलन । 

बेलायतमा होस् या स्पेनमा, इटालीमा होस् या हाम्रै नेपालमा पनि किन नहोस्, फ्रन्टलाइनमा काम गर्नेहरुको मनोबल बढाउन बारम्बार ताली बजाउने कार्यक्रम, द्वीप प्रज्वलन गर्ने कार्यक्रम भएका छन् । 

तर, के यसले साँच्चिकै फ्रन्टलाइनमा काम गर्नेहरुको मनोबल बढाएको छ त ? 

कीर्तिपुरको आयुर्वेद तालिम केन्द्रको आइसोलेसनमा काम गरिरहेकी स्टाफ नर्स प्रजिना रेग्मीलाई पनि यसले मनोबल बढाउँछ भन्ने नै लाग्छ । तर, यो विश्वास उनमा पलाएको लामो समय भएको छैन । 

उनी पहिले कार्यरत थिइन्, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा । 

भदौ लागेसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थाल्यो । कीर्तिपुरमा आइसोलेसन केन्द्र खोलियो । अनि प्रजिनालगायतलाई त्यहाँ खटाइयो ।

‘एक्कासी कोभिड अस्पालमा जानुपर्ने निर्णय सुन्दा निकै डर लाग्यो, म सुरुदेखि नै डायलासिसमा मात्रै काम गर्दै आएको थिएँ । अरु कामको खासै अनुभव थिएन,’ कोभिड १९ का बिरामीको हेरचाह गर्न जानू भन्ने अस्पतालको निर्देशन आएलगत्तै आफ्नो मनमा खेलेको कुरा प्रजिनाले फरकधारलाई सुनाइन्, ‘घरबाट पनि नजा बरु जागिर छोड् भन्नुभएको थियो ।’

मनमा पलाएको डर, घरको सरसल्लाह सबैसँग प्रजिनाको मनमा अर्को कुरा पनि खेलिरहेको थियो– प्रोफेसनल इथिक्स । 

‘आफ्नो पेशा अनुसार यस्तो समयमा त झन् काम गर्नैपर्छ भन्ने सोच आयो, अनि डर बोकेरै गएँ,’ उनले भनिन् ।

अब प्रजिनाको मनमा डर र भय त केही बाँकी छ तर त्यसलाई जिम्मेवारीले पूरै थिचेको छ । फेरि उनको काम गर्ने शैली पनि फेरिएको छ ।

‘अहिले त लगातार १४ दिनसम्म र दिनको १२ घन्टासम्म काम गर्नुपर्छ,’ उनले भनिन्, ‘१४ दिन ड्युटीपछि सात दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ । यसबीचमा पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आए बल्ल बाहिर जान पाइन्छ ।’

प्रजिनाको दैनिकी जस्तो छ, अहिले नेपालभर कोरोना संक्रमितको उपचारमा खटिएका सबै नर्सको दैनिकी नै यही हो । 

अहिले प्रजिना जहाँ काम गर्छिन्, त्यहाँ झन्डै १ सय ८० जना संक्रमित रहन्छन् । लक्षण नदेखिएका र सामान्य लक्षण देखिएका संक्रमितलाई यहाँ पठाउने गरिएको छ । अनि आयुर्वेद पद्धतिबाट उनीहरुको उपचार भइरहेको हुन्छ ।

कोरोना संक्रमितसँग विश्व डराइरहेको यो समयमा प्रजिनाले पहिलो दिन कस्तो अनुभव गरिन् त ? 

थोरै हाँसिन् उनी । अनि भनिन्, ‘निकै डर लाग्यो नि ।’ त्यसपछि आफैं थपिन्, ‘मैले पहिलो पटक उपचार गरेको संक्रमित ६५ वर्षकी महिला हुनुहुन्थ्यो, श्वास फेर्न गाह्रो भयो भनिरहनु हुन्थ्यो ।’ 

प्रजिना पिपिई लगाएर ती महिला राखिएको कोठामा पुगेकी थिइन् । ‘तर, पिपिई लगाएकै भए पनि निकै डर लाग्यो,’ उनले भनिन् ।

पहिलोपटक जति डर लागे पनि अब प्रजिनाको मनबाट त्यो डर भागिसकेको छ । ‘झन् वार्डहरुमा रेखदेखका लागि जसरी हामी पुग्दा संक्रमितहरु खुसी हुनुहुन्छ, त्यसले त डर र चिन्ता पूरै भगाइँदिँदो रहेछ,’ उनले भनिन् ।

प्रजिनासँग संक्रमितको प्रकृतिबारे पनि अब त राम्रो अनुभव भइसकेको छ ।

‘सुरुमा त संक्रमितहरु निकै डराउँदै यहाँ आइपुगेका हुन्छन्,’ उनले भनिन्, ‘संक्रमितमा कुनै लक्षण हुँदैन तर आफूलाई गम्भीर रोग लागेको भन्ने मनस्थिति भएकाले हुनुपर्छ, निकै आत्तिएका हुन्छन् ।’ 

त्यसपछि उनले थपिन्– कति त आइसोलेसनमा गइसक्दा पनि रोइरहेका हुन्छन् । तर, जब कोही एक संक्रमित त्यहाँ पुग्छन्, अरु संक्रमित पनि भेटिएपछि अलिक नर्मल हुन्छन् ।

संक्रमितको मनमा अनेक नराम्रा कुरा नखेलुन्, नराम्रो नसोचुन् र आफूलाई सहज बनाउन पाउन् भनेर यो आइसोलेसन सेन्टरमा संगीतको व्यवस्था पनि गरिएको छ । ‘हामी पनि बिच्चबिच्चमा संक्रमितहरुसँगै नाच्छौँ, उहाँहरु खुसी हुँदा हामी पनि खुसी हुन्छौँ, उहाँहरुले रमाइलो गरेको देख्दा आनन्द लाग्छ,’ प्रजिनाले भनिन् ।

प्रजिनालाई त अझ विशेष त्यो दिन लाग्छ, जुन दिन कुनै एक संक्रमित पूर्ण ठिक भएर त्यहाँबाट बिदा हुँदैछन् । ‘नेगेटिभ रिपोर्ट आएको हामी जानकारी दिइहाल्छौँ,’ उनले भनिन्, ‘घर जान पाइने भयो भनेर निको हुनुभएका उहाँहरु हतारहतार सामान प्याक मात्र गर्नुहुन्न, संगीतको तालमा आफ्नो खुसी पनि मिसाउन थालिहाल्नुहुन्छ ।’

यो खुसी प्रजिनाले महसुस त गरेकी छिन्, तर शब्दमा वर्णन गर्न उनी ठ्याक्कै सक्दिनन् ।

यी खुसीहरु एकातिर छन्, अर्कोतिर संक्रमितको उपचारका लागि खटिँदा हुने सकस पनि प्रजिनाको मनमा छँदै छ । ‘गर्मी बेलामा फुल पिपिई, फेससिल्ड, त्यसमाथि गाउन लगाउँदा भित्र शरीर पसिनाले पूरै भिज्छ,’ उनले लामो सुस्केरा हालिन्, ‘एकपटक पिपिई लगाएपछि त्यो नखोलेसम्म बाथरुम जानै पनि पाइँदैन, यसले साँच्चिकै सकस हुँदो रहेछ ।’

एकातिर संक्रमितको उपचारमा खटिँदा यस्ता सकस प्रजिनाले भोगेकी छिन् भने अर्कोतिर काठमाडौंमा डेरा गरेर बस्नु पर्ने भएकाले अर्को समस्या पनि अहिले उनको दैनिकीमा थपिएको छ । 

भलै प्रजिनाले अहिलेको घरबेटीलाई आफू कोरोना संक्रमितको उपचार हुने अस्पतालमा काम गर्छु त भनेकी छैनन् तर भनिसक्दा आफूमाथि पहिलेको जस्तो व्यवहार नहुने चाहिँ अनुभव गरिसकेकी छिन् । 

यो जेठको कुरा हो । उनको साथी काठमाडौंबाहिरबाट आइन् र प्रजिनाको डेरामा पुगिन् । 

ती साथीलाई कोभिड १९ भएको पुष्टि भयो । यो कुरा प्रजिनाका घरबेटी र वरपरकाले थाहा पाए । 

‘त्यसपछि त म त्यहाँ बस्नै सकिनँ, उहाँहरुले जे व्यवहार गर्नुभयो, त्यसले थप समस्या भयो,’ प्रजिनाले भनिन्, ‘अनि डेरा नै सरेँ म ।’ त्यसैले पनि अहिले त परिवारका सदस्यबाहेक अरु कसैलाई आफू कोरोना संक्रमितको उपचार हुने अस्पतालमा काम गर्छु भनेर थाहा दिएकी छैनन्, प्रजिनाले ।

फेरि प्रजिनालाई थाहा छ, काठमाडौंकै केही टोलमा केहीअघि मात्र चिकित्सकहरु बस्ने घरलाई स्थानीयले घेरेका थिए, चिकित्सकलाई आफ्नो टोलमा बस्न नदिने भन्दै विरोध गरेका थिए ।

यस्ता कुरा सुन्दा प्रजिनाको मन अमिलो हुन्छ । ‘झन् विश्व महामारीमा आफ्नो ज्यानको बाजी राखेर खटिने डाक्टर, नर्सहरुलाई त सम्मान पो गर्नु पर्ने हो त, होइन र ?’ नेपाली समाजसँग उनको प्रश्न छ । 

 

  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १९:१२:५५,   अन्तिम अपडेट : असोज ६, २०७७ मंगलबार १९:१४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया