कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान सुरु गरेका छन् ।
कोभिड १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिले बुधबारदेखि प्लाज्मा दान अभियान शुरु गरेका हुन् ।
कोभिड १९ संक्रमणबाट निको भएका प्रकाश भुजेल, सुरेन्द्र श्रेष्ठ, नारायण घर्ती, राधिका खतिवडा, यज्ञ बोगटीले अभियान सञ्चालन गरेका हुन् ।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पुगेर संक्रमण निको भएका व्यक्तिले प्लाज्मा दान अभियानको थालनी गरेका हुन् । ‘मैले जिते कोरोना म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नारा सहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएको अभियानका संयोजक भुजेलले बताए ।
कोभिड १९ संक्रमणबाट मृत्युसँग लडिरहेका विरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान शुरु गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए । प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा संक्रमणबाट निको भएका व्यक्तिले संक्रमितहरुको आत्मबल बलियो भए सजिलै भाइरसलाई जित्न सकिने बताए । उनीहरूले संक्रमणबाट गम्भीर अवस्थामा पुगेका विरामीको उपचारका लागि प्लाज्मा थेरापी महत्वपूर्ण हुने भएकाले आफूहरूले प्लाज्मा दान अभियानको शुरुवात गरेको बताए ।
पछिल्लो समय प्लाज्मा थेरापीबाट कोभिड १९ संक्रमितको उपचार देशका धेरै अस्पतालले गरिरहेका छन् । सरकारले पनि परीक्षणको रुपमा विरामीको स्वीकृति लिएर उपचार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैले संक्रमण निको भएका व्यक्तिहरु पनि प्लाज्मा दिएर संक्रमणसँग लडिरहेका विरामीहरुको जीवन रक्षा गर्ने अभियानमा जुटेका हुन् । यो अभियानलाई देशैभर सञ्चालन गर्ने भुजेलको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।