चीन–अमेरिका तनावः के विश्व नयाँ शीत युद्धतिर लम्किँदै छ ?

अमेरिका र चीनबीच अहिले जारी तनावको एउटा झलक संयुक्त राष्ट्र संघको महासभाको ७५ औं सत्रमा पनि देखिन पाइयो । 

संयुक्त राष्ट्रसंघको महासभाको सत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि चीनमाथि कोरोनाभाइरस महामारीको प्रसारका लागि जिम्मेवार भएको भन्दै आरोप लगाएका छन् । उनले यो विषयमा चीन जवाफदेही हुनु पर्ने माग पनि राखेका छन् ।

उता, चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो भाषणमा चीन कुनै पनि देशसँग अहिले शीत युद्धमा उत्रिने उद्देश्यका साथ अगाडि नबढेको बताएका छन् । 

अमेरिका र चीन दुवै अहिले विश्वका दुई ठूला शक्ति हुन् । तर, यी दुईबीच विभिन्न विषयमा पछिल्लो समय विवाद बढ्दै गएको छ । कयौँ विषयमा यी दुई देशले एकअर्कालाई धम्की दिएका छन्, चेतावनी दिएका छन् ।

तर, अहिलेको संयुक्त राष्ट्रसंघको यो बैठकमा यसअघिका वर्षहरुमा जस्तो नयाँ प्रारुप देखिएको छ, नयाँ स्वरुपमा यो विवाद देखिएको छ । किनकि कोरोनाभाइरसका कारण यो वर्ष भर्चुअल मिटिङ भइरहेको छ ।

तर, विभिन्न देशका प्रमुखहरुले गरेका भाषणमा एकअर्कालाई प्रहार गर्न चाहिँ छोडेका छैनन् ।



यही सभामा भाषण गर्ने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलेर चीनको विरोध गरेका छन् । उनले आफ्नो सम्बोधनमा भनेका छन्– चीन, जो अहिलेको महामारी विश्वभर फैलाउन जिम्मेवार भएको छ, हामीले उसँग जवाफ माग्नु पर्ने हुन्छ ।

‘सुरुवाती दिनमा जब कोरोना संक्रमण फैलियो, त्यति बेला चीनले घरेलू उडानहरुमाथि प्रतिबन्ध लगायो तर अन्तर्राष्ट्रिय उडान उसले रोकेन,’ ट्रम्पले भनेका छन्, ‘ती विमानमा संक्रमित थिए । र, यो महामारी विश्वभर संक्रमित भयो । चीनले त मैले चीन यात्रामा लगाएको प्रतिबन्धको पनि खण्डन गरेको थियो ।’



राष्ट्रपति ट्रम्पमाथि अहिले अगामि निर्वाचनको प्रेसर मात्र छैन, अहिले कोरोनाका कारण विश्वमा सबैभन्दा बढी संक्रमित भएको देश पनि अमेरिकाले भएकाले यसको समस्यामा पनि उनी परेका छन् । अनि उनले यसअघि लगाउँदै आएको आरोप फेरि लगाएका छन्– चीनले यो महामारीसँग जोडिएको सूचना लुकाउने प्रयास पनि गरेको थियो ।

ट्रम्पले चीनले चाहेको खण्डमा यो महामारी त्यति बेला नै नियन्त्रण हुनसक्ने अवस्था रहेको पनि बताएका छन् । 

तर, चीनले यसअघि जस्तै यसपटक पनि ट्रम्पका यी सबै आरोपहरु निराधार रहेको बताएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना महामारीको सन्दर्भमा भनेका छन्, ‘महामारीको यो समयमा कुनै स्वार्थलाई कुनै स्थान छैन । यसका कारण राष्ट्रवाद विफल रहेको छ, तर यस्ता विचारधाराले महामारीलाई झन् जटिल बनाएको छ ।’

तर, ट्रम्पले आफ्नो भाषणमा यसको विपरित नयाँ नजिर प्रस्तुत गरेका छन्– जब कोही आफ्ना नागरिकको ध्यान राख्न सक्छ, तब उसले हयोग गर्ने सही आधार पनि पाउँछ ।

अहिले कोरोनाभाइरसका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाखभन्दा बढी भइसकेको छ । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा नै मानिसहरुले ज्यान गुमाएका छन् । सुरुवाती चरणमा ट्रम्पले यो महामारीलाई नजरअन्दाज गरेकाले अहिले अमेरिकाले ठूलो क्षति व्यहोरेको जानकारहरु बताउँछन् ।

तर, योसँगै चीन र अमेरिकाबीच बढेको तनावहरुका कारण विश्वमा थप समस्या हुनसक्ने पनि अनुमान गरिएको छ । अमेरिका व्यापार, प्रविधि तथा औद्योगिक, हङकङ तथा शिनजियाङ प्रान्तमा रहने अल्पसंख्य मुसलमानका मुद्दामा चीनसँग विवाद गरिरहेको छ, चीनविरोधी आफ्नो धारणा खुलेर राखिरहेको छ ।

उता, राष्ट्रसंघको महासभामा ट्रम्पको भाषणा सकिएलगत्तै चिनियाँ राष्ट्रपतिको भाषण प्रसारण गरिएको थियो । यी दुवै रेकर्डेड भाषण थिए । चिनियाँ राष्ट्रपति सीले आफ्नो भाषणमा दुई सभ्याताबीचको टकरावलाई जोडिएर जोखिम सुरु भएको विषयमा आफ्नो चेतावनी दिएका थिए ।

उनले भाषणमा भने, ‘हामी वार्ताबाट आफ्ना मतभेदहरु तथा विवादलाई हल गर्न नयाँ दिशामा काम गर्न सक्छौँ । हामी केवल आफ्नो विकास गरौँ भन्ने सोच्दैनौँ र यो चाहँदैनौँ कि विवादका कारण हामी कुनै युद्धमा होमिऔँ ।’

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले चाहिँ महासभामा अहिले विश्व निकै खराब दिशामा अगाडि बढिरहेको बताएका थिए । उनले चीन र अमेरिकाको नाम लिएनन् । तर, भने, ‘विश्व शक्तिको टकरावका कारण विश्व निकै खराब यात्रामा अगाडि बढिरहेको छ । हामीले अब त्यो प्रयास गर्नुपर्छ जसका कारण सम्भावित शीत युद्ध टरोस् ।’

  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १४:५३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया