प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले निजामती कर्मचारी युनियनको निर्वाचनमा आफूअनुकूल परिणाम नआउने देखेर निर्वाचनै सारेको भन्दै आपत्ति जनाएको छ ।
कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख शिवप्रसाद हुमागाईंले विज्ञप्ति जारी गर्दै निजामती कर्मचारी युनियनको निर्वाचन रोक्नु दुःखद भएको भन्दै सो निर्वाचनमा गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ ।
आगामी असोज २४ गतेका लागि तय गरिएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव बुधबारको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर २७ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
निजामती कर्मचारीको आधिकारिक युनियनको निर्वाचन पटक–पटक सारेर सरकारले संविधानप्रदत्त मौलिक हकको हनन गरेको कांग्रेसको आरोप छ ।
संविधानको धारा १७ बमोजिम संघ–संस्था खोल्न पाउने र धारा ३४ बमोजिम युनियन खोल्ने र सामूहिक सौदाबाजी गर्न पाउने नैसर्गिक अधिकार भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस कुनै पनि वर्ग र समुदायको लोकतान्त्रिक अधिकारमाथि हुने अतिक्रमणको भर्त्सना गर्दछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।