विदेशबाट ल्याइएका नागरिक राख्न बनाइएका भक्तपुरका दुई होल्डिङ सेन्टर बन्द

सरकारले गत जेठ २३ गतेदेखि विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १ र २ का नागरिक राख्न नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टर बन्द गराएको छ । कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा जेठ २३ गते पहिलो उडानका रुपमा म्यान्माली सेनाको जहाजबाट आएका नेपालीदेखि हालसम्म फर्किएका प्रदेश १ र २ का नागरिकलाई सेनाको टोलीले विमानस्थलबाट सेनाकै यातायात साधनबाट ल्याई भक्तपुरका दुई होल्डिङ सेन्टरमा राखेर मात्रै सम्बन्धित जिल्ला पठाउँदै आएको थियो ।

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णयानुसार विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सेनाको नेतृत्वमा संयुक्त सु्रक्षा टोलीले आवश्यक व्यवस्थापन गरेको थियो ।

होल्डिङ सेन्टरमा विदेशबाट फर्किएकालाई राखेर व्यक्तिगत विवरण सङ्कलन गर्ने, निःशुल्क स्तरीय खाना र पानी खुवाएर आराम गराउने, स्वास्थ्यावस्था बुझ्ने, आवश्यक परेमा स्वास्थ्य परामर्श एवं जाँचको व्यवस्था गर्ने, नेपाल टेलिकमको निःशुल्क सिमकार्ड वितरण गरेर सम्बन्धित जिल्ला फर्कने सवारी साधनको व्यवस्थापनपछि पठाउने गरिएको वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिए । 

सरकारको नियमानुसार अब विदेशबाट फर्किएकालाई होल्डिङ सेन्टरमा राख्नुपर्ने अवस्था नभएकाले दुवै सेन्टर बन्द गरेर निर्मलीकरण गरी बैंक्वैट सञ्चालकलाई बुझाएको जानकारी उनले दिए । 

सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान गरी चार वटै सुरक्षा निकाय सेन्टरको सुरक्षा एवं व्यवस्थापनमा खटिएका थिए । भक्तपुर अस्पताल र सेनाका चिकित्सकसहितको स्वास्थ्य टोली, औषधि, एम्बुलेन्स, रेडक्रसको स्वयंसेवक परिचालन गरिएको थियो । 

सातवटै प्रदेशका मानिसलाई राख्न काठमाडौँ उपत्यकाका तीन जिल्लामा व्यवस्थापन गरिएको होल्डिङ सेन्टरमध्ये भक्तपुरका दुईवटै सेन्टरमा सफा र स्तरीय खाना खुवाइएको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको भनाइ छ । हालसम्म प्रदेश १ का १४ हजार ४९ र प्रदेश नं २ का १० हजार २४९ जना गरी कूल २४ हजार २९८ जनालाई यहाँका सेन्टरमा राखेर पठाइएको कर्णेल पौडेलले जानकारी दिए । 



सेन्टरमा ग्रिन भिलेज हाउजिङ प्रालि र निक भुजी हाउजिङ प्रालिले उपलब्ध गराएको खाद्य सामग्रीबाट विदेशबाट फर्किएका १५ हजारभन्दा बढी नेपालीलाई नेपाली सेनाको टोलीले खाना पकाउने, खुवाउनेलगायत व्यवस्था गरेको थियो । त्यसबाहेक करिब तीन हजारलाई गैरसरकारी संस्था महासङ्घ भक्तपुरको संयोजनमा महासङ्घ केन्द्रीय कार्यालयले खाना खुवाउने व्यवस्था गरेको थियो । सूर्यविनायक नगरपालिकाले पनि निःशुल्क खानाका लागि सहयोग गरेको थियो । 

सेन्टर बन्द भएपछि सुरक्षा फौजको टोलीले सफा र निःसङ्क्रमण गरी पूर्ववत् रुपमा बैंक्वेट जिम्मा लगाएको इम्पेरियर बैंक्वेटका सञ्चालक रोमन शिलाकारले जानकारी दिए । उनले सेन्टर बनाएबापत बैंक्वेटलाई नाफारहित रुपमा सामान्य खर्च र टुटफुट भएका सामानको क्षति सरकारले उपलब्ध गराएको जानकारी दिए ।



  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १६:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया