मध्यपूर्वका नेताहरूले संयुक्त राष्ट्रसंघीय महासभामा सम्बोधन गर्दै यस क्षेत्रको सुरक्षा विषयमा चासो व्यक्त गरेका छन् ।
राष्ट्रसंघको ७५ औँ सत्रको साधारण छलफल सुरु भएको दोस्रो दिन साउदी राजा सलमान विन अब्दुलाजिज अल साउदले बुधबार महासभामा गरेको पहिलो सम्बोधनमा चरमपन्थ, अराजक शक्ति र समूहका कारण यस क्षेत्रमा असुरक्षा बढेको बताए ।
कोरोना महामारीका कारण ‘भर्चुअल’ सम्मेलनमा सम्बोधन गर्दै उनले भने, ‘यदि हामी आतंकवादविरूद्धको लडाईंमा विजयी हुन चाहन्छौं भने हामी अन्तर्राष्ट्रिय चरमपन्थी सोचलाई बढावा दिने देशहरूको अगाडि दृढ भएर उभिनै पर्छ, जुन उनीहरूको चरमपन्थी, अराजक र विनाशकारी प्रकृति लुकाउन झूटा राजनीतिक नारामा भर पर्छन् ।’
इरानमाथिको प्रतिबन्धको विरोध गर्न महासभालाई इरानी राष्ट्रपति हसन रौहानीले प्रयोग गरे । उनले भने, ‘विश्व इतिहासमा सबैभन्दा कडा प्रतिबन्धहरू इरानमाथि लगाइएको र यो संयुक्त राष्ट्र संघ बडापत्र र अन्तर्राष्ट्रिय सम्झौताको उल्लङ्घन हो ।’
लेबनानका राष्ट्रपति मिसेल आउनले महासभामा मुख्यतः अगस्ट ४ मा भएको शक्तिशाली विस्फोटपछि बेरूतको पुनर्निर्माण गर्न विश्व समुदायसमक्ष सहयोगको याचना गरे । महासभामा पुनर्निर्माणको खाका प्रस्तुत गर्दै उनले भने, ‘पुनर्निर्माणको सहयोग पुर्याउने एउटा विकल्प भनेको विनाश भएको क्षेत्रलाई विभिन्न भौगोलिक क्षेत्रमा विभाजन गरी प्रत्येक देशलाई एउटा विशेष क्षेत्रमा आबद्ध गर्ने र पुनर्निर्माण अघि बढाउन सकिन्छ ।’
उनले विश्व बैंकले विस्फोटनबाट करिब ३.५ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति र ४.५ अर्ब बराबरको भौतिक संरचना भएको क्षतिको अनुमान गरेको भन्दै अति आवश्यक तथा तत्काल निर्माण गर्नुपर्ने संरचनाका लागि झन्डै २ अर्ब डलरको आवश्यक रहेको पनि उक्त अवसरमा बताए ।
लेवनानी राष्ट्रपतिले भने, ‘सबै लेबनानी जनताको ऐक्यबद्धता र विश्व समुदायको सहयोगका बेरुतले राहत पाउने र शिर उठाउनेछ ।’
यसैगरी मंगलबारको सम्बोधनमा इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीले भने, ‘मध्यपूर्वको असुरक्षाले विश्व शान्ति र स्थायित्वलाई प्रभावित पार्ने बताउँदै क्षेत्रीय शान्ति र स्थायित्वका लागि राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावनामा आधारित राजनीतिक माध्यमबाट समाधान खोजिनु जरुरी रहेको छ ।’
जोर्डनका राजा अब्दुल्ला द्वितीयले देशहरूले कोरोनाको महामारीका साथै विश्वव्यापी चुनौतीको सामना गर्न विश्वका सबै जनताको हितको रक्षा गर्नुपर्ने र आतङ्कवादविरुद्ध एक हुनु पर्नेमा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।