७५ दिनमा प्रधानमन्त्री–आइजिपी ४५ पटक भेटघाटः कसले चलाउँछ नेपाली प्रहरी ?

नेपाल प्रहरीको नेतृत्व अहिले शैलेश थापा क्षेत्रीले सम्हालेका छन् । २४ असारमा मन्त्रिपरिषद् बैठकबाट आइजिपीमा नियुक्त शैलेश अब १८ वैशाख २०७९ सम्म नेपाल प्रहरीको आइजिपीमा रहनेछन् । 

तर, सडकमा अहिले प्रहरी जसरी आम नागरिकमाथि निर्मम ढंगमा उत्रिएको छ, यसले क्षेत्रीको नेतृत्वमाथि प्रश्न उठाएको छ । आम नागरिकलाई बारम्बार दुःख दिएका प्रहरीका विभिन्न भिडियोहरु अहिले सामाजिक सन्जालमा निकै चर्चित छन्, निकै आलोचनामा प्रहरीका कदम परेका छन् । 

के आइजिपी क्षेत्री प्रहरी हेडक्वार्टरमा नै बसेर प्रहरीलाई यति निर्मम बन्न निर्देशन दिएका छन् ? यो प्रश्न अहिले सामाजिक सन्जालमा मात्र होइन, आम युवाहरुले बारम्बार उठाइरहेको प्रश्न हो । 

सर्वसाधरणमाथि प्रहरी दमनको यो श्रृङ्खला पछिल्लो समय झन् बढेको छ । 

तर, किन ? 

यसको उत्तर खोज्न केही घटना हेरौँ ।



प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट गत असारमा ठूलो प्रेसर थियो– प्रधानमन्त्री पदबाट राजीनामा दिनु । स्वेच्छाचारी ढंगले सरकार चलाएको, पार्टीका निर्देशन नमानेको, सरकारका कामकारवाही सशक्त हुन नसकेको र बारम्बार अनेक ‘बखेडा’ झिकेको आरोप लगाउँदै सत्तारुढ नेकपाका नेताहरुले त्यति बेला माग गरेका थिए– प्रधानमन्त्री ओलीको राजीनामा । 

जसै नेकपाका नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागे, उनका समर्थकहरु माइतीघरमा भेला भए । प्लेकार्ड बोके– म ओलीको पक्षमा छु । 



यो त्यो समयमा थियो, जतिबेला नेपालमा कोरोनाभाइरस महामारीको प्रभाव उत्कर्षमा पुग्दै थियो । र, यो त्यही समय थियो, जतिबेला सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि जमघट नगर्न, भेला नगर्न, कार्यक्रम आयोजना नगर्न निर्देशन जारी गरेको थियो । 

सरकारको नेतृत्व गरिरहेका छन्, केपी ओली । तर, उनकै समर्थक थिए बाटोमा ।

प्रहरीले उनीहरुलाई केही गरेन, उल्टै सुरक्षा दियो । त्यति बेला प्रहरीको नेतृत्वमा थिए, शैलेश थापा क्षेत्री ।

अब अर्को प्रसंग हेरौँ । मानव स्वास्थ्यका लागि, देशमा चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि आफ्नो ज्यान बारम्बार दाउमा राखेर अनसन बसिरहेका छन्, वरिष्ठ चिकित्सक डा. गोविन्द केसी । केसीले अहिले १९ औं अनसन सुरु गरेका छन् । जुम्ला पुगेर अनसनमा बसेका डा. केसीलाई जुम्लाको मन्दिरबाट अस्पताल पुर्याउँदा होस् या काठमाडौं आइसकेपछि त्रिभुवन विमानस्थलबाट अस्पताल लैजाने क्रममा किन नहोस्, प्रहरीले उनीमाथि लछारपछार गर्यो ।

सादगी जीवनका पर्याय डा. केसीमाथि प्रहरीको व्यवहार अहिले पनि आलोचनाको केन्द्रमा छ ।

प्रहरीकै चरम दुव्र्यवहार तथा दमनको अर्का उदाहरण हुन्, बब्लू गुप्ता र मनिषमान श्रेष्ठमाथिका प्रहार । माइतीघरमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै सडकमा उभिएका सोझा जनतामाथि प्रहरीले गरेको दमन पनि हालसालैको हो । 

यी दमन र अत्याचार देखेपछि प्रश्न उठ्छ– आखिर कसरी निर्देशित भइरहेको छ त प्रहरी ? 

यसको सहज जवाफ हो– आइजिपीले प्रधानमन्त्री ओलीको निर्देशन र सल्लाहमा नै यी सब काम गरिरहेका छन् । यसका लागि केही दृष्टान्त हेरौँ । 

२४ असारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेसँगै आइजिपी बनेका शैलेशले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बारम्बार भेटिरहेका छन् । यो भेट कति बाक्लो छ भने प्रहरीकै केही पूर्वप्रमुखहरुले फरकधारसँग यसबारे आश्चर्र्य प्रकट गरेका छन् ।​

आइजिपी भएसँगै अहिलेसम्म शैलेशले प्रधानमन्त्री ओलीलाई कम्तिमा पनि ४५ पटक भेट गरेका छन् । 

सामान्य हो, देशको शान्ति सुरक्षाबारे सल्लाह गर्न र यसबारे विमर्श गर्न प्रधानमन्त्री र आइजिपीको भेट आवश्यक छ । तर, सातामै ३ पटकभन्दा बढी आइजिपी–प्रधानमन्त्री भेट अस्वाभाविक मात्र होइन, प्रश्न जन्माउने विषय भएको प्रहरी अधिकारीहरु नै बताउँछन् ।

‘आवश्यकताअनुसार सातामा अहिले २–३ पटक भेट भइरहेको साँचो हो,’ आइजिपी शैलेशले फरकधारसँग भने, ‘यस्ता भेटमा देशको शान्ति सुरक्षाको कुरा पनि हुन्छ, बिफ्रिङ हुनका लागि पनि भेटघाट हुनु जरुरी नै छ नि ।’

आइजिपी शैलेशले यसलाई स्वभाविक रुपमा लिए पनि यसअघि प्रधानमन्त्री ओलीले नै निवर्तमान आइजिपी ठाकुर ज्ञवालीसँग खासै भेट गर्दैनथे । 

‘ज्ञवालीले त प्रधानमन्त्री ओलीको समय नै पाउँदैनथे,’ स्रोतको दाबी छ, ‘उनले पाँच महिने कार्यकालमा मुश्किलले ३ पटक प्रधानमन्त्रीसँग भेटघाट गरे होलान् ।’

ज्ञवाली पनि यो कुरा स्वीकार गर्छन् । 

‘देश आखिर सिस्टममा चल्ने हो, कार्यकारी प्रमुखसँग बारम्बार भेट हुनु भनेको कार्यकारी प्रमुखको समय बर्बादी गर्नुमात्र होइन,’ ज्ञवालीले फरकधारसँग भने, ‘सिस्टमअनुसार जाने हो भने हाम्रा काम सबै गृह मन्त्रालयबाट नै फत्ते हुन्छन् । प्रधानमन्त्रीसँग अतिआवश्यक केही विषयमा छलफल गर्न पनि गृहसँगैको समन्वयमा भेट हुनसक्छ ।’

ज्ञवाली आइजिपीले प्रधानमन्त्रीलाई धेरैपटक भेट्नु शंका गर्न पर्ने अवस्थाको सिर्जना हुने कुरामा विश्वस्त छन् । ‘भेटले होइन, सिस्टम र नियमले चल्नुपर्छ,’ उनले भने, ‘प्रहरी प्रशासन चल्ने भनेको सिस्टमले हो, यस्ता धेरै भेट भएका छन् भने त्यहाँ शंका गर्ने ठाउँ रहन्छन् ।’

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी पनि फिल्डमा खटिएका प्रहरी अधिकारीहरुलाई तालिम र उचित निर्देशनको अभावले अहिलेको अवस्था सिर्जना भएको बताउँछन् । उनी पनि आइजिपीले यस्तो सिस्टम बनाउनु पर्नेमा विश्वास गर्छन् ।

तर, अहिलेका आइजिपी क्षेत्री र प्रधानमन्त्री ओलीबीच बारम्बार भेट हुनुमा अर्को प्रश्न पनि उठ्ने गरेको विश्लेषण पूर्वआइजिपीहरु गर्छन् । ‘सायद, आइजिपीमाथि प्रधानमन्त्रीको विश्वास छैन वा आइजिपी आफ्ना काम कुशलतापूर्वक निर्वाह गर्न सक्दैनन्,’ एक पूर्वआइजिपीले नाम नलेख्न अनुरोध गर्दै फरकधारलाई बताए, ‘त्यही भएर प्रधानमन्त्रीले बारम्बार बोलाउँदै ससाना कुरामा पनि उनलाई निर्देशन दिएको हुनसक्छ ।’

  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १८:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया