नबिल बैंकका सिइओ अनिल केशरी शाहको विचार : अर्थतन्त्र जोगाउन त्रिपक्षीय सहकार्य जरुरी छ
अनिल केशरी शाह
फरकधार / ११ असोज, २०७७

सुरुमा कोभिड देखा पर्दा सबै मानिस आत्तिए । यो यति लामो समयसम्म रहन्छ भन्ने कसैलाई अनुमान थिएन । नेपालमा पहिलो संक्रमित देखिएपछि सरकारले लकडाउन गर्यो । त्यसपछिको करिब पाँच महिनामा नेपालमा मात्र नभई पुरै विश्वमा कसैले नसोचेको परिवर्तन आएको छ ।

हामीले प्राकृतिक प्रकोप तथा भूकम्पको प्रभावलाई सबैभन्दा ठूलो समस्या मानिरहेको अवस्थामा कोेभिड देखिएपछि भूकम्पको प्रभाव सामान्य जस्तो देखिएको छ । 
लकडाउनले गत आव २०७६\७७ को वित्तीय प्रतिवेदनमा धेरै असर पर्यो ।

लकडाउनको सुरुका केही हप्ता ऋण लिएका ग्राहकहरूको स्थितिबारे बुझ्ने तथा दैनिक सेवालाई कसरी निरन्तरता दिने भन्नेमा लाग्यौँ । यसमा नेपाल राष्ट्र बैंकले पनि २०७७ असार मसान्तसम्म ब्याज नलिनु, सबै ऋणमा २ प्रतिशत छुट  गर्नु भनेर सहजीकरणका लागि निर्देशन दिएको थियो । 

लकडाउनको सुरुवाती अवस्थामा बैंक बन्द हुन्छन् कि वा खाना जस्तो आधारभूत आवश्यकताका लागि पनि गाह्रो हुन्छ कि भन्ने डरले आम सर्वसाधारणले बैंकबाट धेरै पैसा निकाले । तर, पछिल्लो समय निरन्तर डिपोजिट बढेको छ ।

यस अवधिमा अत्यावश्यकबाहेकका पैसा बैंकमा आउन थाल्यो । तर बन्दाबन्दीमा अधिकांश उद्योग, कलकारखानालगायत विभिन्न व्यवसाय ठप्प रहँदा कर्जाको माग पनि खासै आएन । एकातिर बैंकमा निक्षेप बढ्नु र अर्कोतिर कर्जा प्रवाहमा कमी आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता (लगानी योग्य रकम)को स्थिति पनि आएको छ । अहिले नै २ खर्ब रुपैयाँ अधिक तरलता छ ।

यद्यपि, यसबीच बैंक तथा वित्तीय संस्थाले नेपाली जनताको विश्वास जितेको छ भन्नेमा हामी ढुक्क छौं । भूकम्पको बेला होस् या अहिले कोभिडको बेलामा पनि हामीले शाखा खोलेर वा एटिएम र डिजिटल माध्यमबाट निरन्तर सेवा दिइरहेका छौं ।

यसले गर्दा डिपोजिट (निक्षेप कर्ता) निरन्तर आइरहेको छ । यससँगै भौतिक दुरी कायम गर्नुपर्ने बाध्यताले ग्राहकलाई सहज होस भनेर अनलाइनबाट खाता खोल्ने सुविधालाई थप प्रभावकारी बनायौं । नेपालमा अनलाइन खाता खोल्ने प्रविधि सुरुमा नबिल बैंकले नै भित्र्याएको हो । करिब १३ वर्ष पहिले हामीले यस्तो प्रविधि सञ्चालन गरेका थियाैं । 

यता बन्दाबन्दीकै समयमा नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर रुपमा महाप्रसाद अधिकारीको नियुक्ति भयो । उहाँले माहामारीको समयमा संस्था र ग्राहक दुवैलाई बचाउन सुझाव दिनुभएको थियो । दुबै पक्षलाई बचाउन सकियो भने मात्र यो माहामारीको प्रभाव कम गर्न सकिन्छ । सो सुझावलाई अहिले पनि अपनाइरहेका छौ ।

यो अवस्थामा संस्थाको नाफा के कति बढाउने भन्दा पनि वासलातको सन्तुलन कसरी कायम राख्ने भनेर काम गरिरहेका छौं । यसमा नबिलले ऋण लिएको ग्राहकलाई कोभिडले पारेको प्रभावको आधारमा रेड, एम्बर र ग्रीन गरी तीन भागमा वर्गीकरण गरिएको छ । कोभिडले सबैभन्दा धेरै प्रभाव पारेको पाँचतारे होटल, पर्यटकयि सेवाको व्यवसायी लगायतलाई रेडमा राखिएको छ ।

एम्बरमा कोभिडको प्रभाव सकिएपछि राम्रो व्यवस्थापन भयो र केही राहत पाएमा छिट्टै सामान्य अवस्थामा फर्कन सक्ने व्यवसायलाई राखिएको छ । अधिकांश व्यवसाय एम्बरमा छन् । कोभिडको नकरात्मक प्रभाव नपरेको समूहका खाद्यान्न, औषधि व्यवसायलाई ग्रीनमा राखियो । यसरी पुरै ऋण पोर्टफोलियोलाई तीन समूहमा छुट्ट्याएपछि सम्पूर्ण व्यवसायीको आ–आफ्नो आगामी योजना के के छन् र ती योजनालाई हामीले कसरी सहयोग गर्न सक्छौ भनेर हालसम्म पनि निरन्तर छलफल गरिरहेका छौं । 

लकडाउनको अवधिमा ग्राहक न त बैंक आउन सक्छ न त चाहान्छन् । साथै, संस्थागत ग्राहकले कारोबारका लागि गाह्रो भयो, त्यसका लागि केही नयाँ प्रडक्ट ल्याउनुपर्यो भनेपछि अब डिजिटल माध्यमबाट सेवामा जोड दियौं । सुरुको लकडाउन भएपछि ई याटदिरेट नबिल प्रडक्ट (e@nabil product) लञ्च गर्यौ । यो प्रडक्टले गर्दा संस्थागत ग्राहकले विद्युतीय माध्यमबाट पैसा जम्मा गर्न र निकाल्न सजिलो भयो ।

साथै, डिजिटल माध्यमबाट खाता खोल्न सकिने, विद्युतिय माध्यमबाट पैसा जम्मा गर्न र निकाल्न, पैसा पठाउन सकिने गरी ‘जेन एन’ खाता संचालनमा ल्यायौ । विद्युतीय केवाइसीको विषयमा मौद्रिक नीति र राष्ट्र बैंकको निर्देशनले पनि सहज गरेकाले बैंक पूर्ण रुपमा सञ्चालनमा आएपछि आवश्यक सबै कागजपत्र बैंकमा ल्याउने गरी खाता खोल्न सकिने व्यवस्था गरियो ।

यसमा हामीले एक लाख रूपैयाँसम्मको सीमा राखेका छौं । नबिल बैंकले अहिले कोभिडको समयमा डिजिटल बैंकिङको मागलाई देखेर नबिल डिजी बैंक स्थापना गरेको छ । विगत ३५\३६ वर्षदेखि म्यानुअल रुपमा संचालन भइरहेको बैंक भित्रको कामलाई पनि डिजिटलमा रुपान्तरण गर्न गृहकार्य गरिरहेका छौं ।

निषेधाज्ञा खुकुलो भएसँगै ठूलो कम्पनी वा उद्योगले अब व्यवसाय पुनः सुचारु गर्न कर्जाको माग गरेका छन् । मध्यम वा मझौला उद्योग तथा कम्पनी (एसएमई)ले पनि विस्तारै कर्जाको माग गरेका छन् । धेरै मात्रामा ठूला कम्पनीबाटै माग आइरहेको छ ।

कोभिडको कारणले आगामी चाडपर्वमा चहलपहल हुने वा नहुनेमा एकिन नभएको कारणले व्यवसायीले एलसीका लागि खासै माग गरेका छैनन् । भविष्यको बारेमा कसैलाई जानकारी छैन, तर पनि सम्भावित अवस्थालाई हेरेर चाडपर्वमा व्यवसाय सञ्चालनका लागि के कस्तो अवस्था हुन्छ, कसरी आगामी दिनमा काम गर्ने भनेर एउटा योजना बनाएर अगाडि बढ्नका लागि नेपाल सरकारबाट स्पष्ट धारणा आवश्यक छ ।

यसले व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बाटो खुल्छ । नत्र अहिलेकै जस्तो अन्योल अवस्था रहन्छ । नेपाल सरकारबाट स्पष्ट धारणा आएमा व्यवसायीलाई योजना बनाउन सहज हुन्छ, जसले बैंकमा बस्तु तथा सेवा आयात गर्न प्रतीत पत्र (एलसी) लगायतका कर्जाका लागि माग आउँछ ।

कोभिडका कारणले अर्थतन्त्रमा परेको नकरात्मक प्रभावलाई कम गर्न निजीक्षेत्र, नेपाल सरकार र अर्थतन्त्रमा काम गर्ने सबै सरोकारवाला पक्षसँगै मिलेर गुरुयोजना बनाउन जरुरी छ । गुरुयोजनालाई तत्काल कसरी बच्ने, भोलिका दिनमा अर्थतन्त्रलाई कसरी पुनर्जीवित गराउने र भविष्यमा कसरी व्यवसायलाई चलायमान गराउने भन्नेमा केन्द्रित हुनुपर्छ ।

अहिले देखिएको कोभिडको प्रभाव १० प्रतिशत मात्र हो, किनकि स्वास्थ्य र सुरक्षा क्षेत्रमा मात्र केन्द्रित रहेको अवस्था छ । बाँकी ९० प्रतिशत प्रभाव भनेको आर्थिक र सामाजिक क्षेत्रमा परेको छ । आर्थिक र सामाजिक क्षेत्रमा परेको प्रभावलाई कम गर्न, अर्थतन्त्रलाई पुनर्जीवित गर्न सबै क्षेत्र मिलेर अघि बढ्नुको विकल्प छैन । 
अहिलेको अवस्थामा वित्तीय क्षेत्रले मात्र ब्याज घटाउने, ब्याज तिर्ने अवधि थप्ने जस्ता राहत दिइरहेको छ ।

तर, नेपाल सरकारले करमा, बिजुलीमा वा अरु व्यवसायीले भाडामा छुट दिएका छैनन् । यसरी, एउटा क्षेत्रले मात्र जोड दिएर अर्थतन्त्रलाई अगाडि लैजान सकिँदैन । यसका लागि सबै क्षेत्र एकजुट हुनु जरुरी छ ।

 अब विश्वका विभिन्न देशबाट धेरै ठूलो संख्यामा नेपाली स्वदेश फिर्ता आउँदै छन् । उनीहरूलाई रोजगारी दिन, व्यवसायमा लगाउन बैंकहरू ऋण दिन तयार छन् । तर, उहाँहरूलाई आवश्यक पूर्वाधार उपलब्ध गराउन, उत्पादित सामानले बजार पाउने अवस्था बनाउन अरु सम्बन्धित क्षेत्रले सहयोग गर्नुपर्छ । यसर्थ सहज परिस्थिति बनाउन वित्तीय क्षेत्र मात्र तातेर हुँदैन ।

यसका लागि गुरुयोजना बनायौँ भने सबै क्षेत्र एक ठाउँमा हुन सकिन्छ । यसबाट कसको आवश्यकता के छ ? कसलाई के सहयोग चाहिन्छ र कसले सहयोग गर्न सक्छ भनेर थाहा पाउन सकिन्छ, जसले गर्दा कोभिडको नकरात्मक प्रभावलाई कम गर्न सहज हुन्छ ।
(नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहसँग गरिएको कुराकानीमा आधारित)

  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार १६:१:५६,   अन्तिम अपडेट : असोज ११, २०७७ आइतबार १६:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया