चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दैै १९ औं पटक अनसनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ ।
तर, सरकारले १६ दिन डा. केसी अनसनमा बस्दा पनि कुनै वास्ता गरेको छैन । तत्काल सरकारले कुनै वास्ता गर्ने लक्षण पनि देखाएको छैन ।
यो विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुबीच टेलिफोनमा भने कुराकानी सुरु भएको छ ।
यही विषयमा कुराकानी गर्न नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिन यता बारम्बार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन पनि गरेका छन् ।
‘तर, उहाँले यस विषयमा कुनै चासो दिनु भएको छैन, मैले कुरा उठाउँदा पनि तपाईंले नै हो उहाँलाई उस्काएर अनसन बस्न लगाएको भन्ने जवाफ दिनुभयो,’ श्रेष्ठलाई उद्धृत गर्दै एक नेताले फरकधारलाई बताए ।
एकातिर डा. केसीको स्वास्थ्यअवस्था थप बिग्रिँदै गएको छ भने अर्कोतिर सरकारले बेवास्ता गर्दा थप समस्या भएको छ ।
अहिले डा. केसीको अवस्था निकै खस्किएको छ । ‘मुटुमा समस्या देखिने, मुटुको धड्कन असन्तुलित हुने, मांसपेशी दुख्ने, थकान र वान्ता हुने समस्या डा. केसीको स्वास्थ्यमा देखिन थालेको छ,’ सोमबार निकालिएको डा. केसीको स्वास्थ्य बुलेटिनमा उल्लेख छ ।
बुलेटिनमा उनलाई चाँडोभन्दा चाँडो आइसियूमा सार्नु पर्ने पनि उल्लेख गरिएको छ ।
तर, सरकारी पक्षले अहिलेसम्म यसबारे कुनै चासो देखाएको छैन । ‘हामीले स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक रुपमा ज्ञापन पत्र पनि बुझाइसकेका छौँ,’ डा. केसीनिकट अभियन्ता प्रितम सुवेदीले फरकधारलाई बताए, ‘तर, उहाँहरुबाट कुनै चासो आएको छैन, उहाँहरुले कुनै जवाफ दिनु भएको छैन ।’
डा. केसी र उनका पक्षधरहरु सरकारसँग वार्ता गर्न आफूहरु तयार रहेको बताउन थालेका छन् । तर, यता सरकारको रणनीति डा. केसीलाई अहिले सम्बोधन नगर्ने भएको नेकपाकै केही नेताहरु बताउँछन् ।
‘अहिले कोरोनाभाइरस महामारीले सबै क्षेत्रमा समस्या उत्पन्न गरेको छ,’ ओलीनिकट नेकपाका एक नेताले भने, ‘यस्तो समयमा उहाँ अनसन बस्नु हुँदैनथ्यो । अब उहाँ अनसनमा हुनुहुन्छ भन्ने सरकारलाई थाहा नभएको होइन । उहाँलाई अहिलेको अवस्था मध्यनजर गर्दै अनसन तोड्न सरकारले अनुरोध गर्न सक्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।