ओली–प्रचण्ड भेटघाट : कहाँ अड्कियो हलो ?

मन्त्रिपरिषद्को पुनर्गठन गर्ने तयारीसहित केही दिनयता बस्दै आएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल स्थगित भएपछि मन्त्रिपरिषद् पुनर्गठन अनिश्चित बन्दै गएको छ । मन्त्रिपरिषद् पुनर्गठनलाई केन्द्रित गर्दै भएको छलफलबाट सहमति जुट्न सकिरहेको छैन । 

सत्तारुढ दल नेकपाले मन्त्रिपरिषद् पुनर्गठन गर्न सरकारलाई सुझाब दिएको थियो । सोहीअनुसार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । तर, पूरै मन्त्रिपरिषद् पुनर्गठन गर्ने कि केही मन्त्रालय मात्र फेरबदल गर्ने भन्ने विषयमा दुई अध्यक्षबीच कुरा मिल्न नसक्दा यो विषय निष्कर्षमा पुग्न सकेको छैन ।

कहाँ बाझियो मत ? 

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन नभएर रिक्त मन्त्रालयमा मात्र नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । तर, उता अध्यक्ष प्रचण्ड भने दुई वर्ष कार्यावधि पुगेका सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्री ल्याउनुपर्ने अडान राख्दै आएका छन् । यही विषयमा ओली–प्रचण्डको मत बाझिँदा सहमति हुन नसकेको स्रोतको भनाइ छ ।

‘प्रधानमन्त्रीज्यू रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालय गरी ३ मन्त्रालय तथा टुक्र्याएर थप गरिने तीन मन्त्रालय गरी जम्मा ६ वटा मन्त्रालयमा मात्र नयाँ मन्त्री थप्ने भन्नुहुन्छ । अध्यक्ष प्रचण्डज्यू भने दुई वर्ष पूरा भएकालाई बिदाइ गरेर नयाँ मन्त्री नियुक्त गर्नुपर्ने पक्षमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘यही विषयमा दुई अध्यक्षबीच कुरा मिलेको छैन । यसले गर्दा मन्त्रिपरिषद् पुनर्गठन लम्बिन सक्ने देखिन्छ ।’ 

ओली–प्रचण्डबीच विगत पाँच दिनयता निरन्तर रुपमा एकल छलफल हुँदै आएको छ । तर, यही विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् पुनर्गठन निष्र्कषमा पुग्न नसकेको हो । 



छलफल चलिरहेकाले केही दिनमा निष्कर्ष निस्किने ओली निकट स्रोतको दाबी छ । ‘अहिले अध्यक्षद्वयबीचमा कुन मापदण्डमा गर्ने भन्ने विषयमा नै छलफल भइरहेको छ । अध्यक्ष प्रचण्डज्यू दुई वर्ष पुगेका सबैलाई हटाएर जानुपर्ने पक्षमा हुनुहुन्छ । प्रधानमन्त्रीज्यू राम्रा काम गरेकालाई राखेर केहीलाई फेर्ने र खाली रहेका मन्त्रालयमा थपेर जानुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । यही विषयमा कुरा मिल्न सकेको छैन,’ ओलीनिकट स्रोतले भन्यो । 

मन्त्रिपरिषद् हेरफेरको मापदण्डकै विषयमा अहिले कुरा मिल्न नसकेको नेकपाका नेता बताइरहेका छन् । कुरा नमिलेकै कारण बुधबारका लागि बोलाइएको ओली–प्रचण्डबीचको बैठक स्थगित पनि भएको छ । 



प्रचण्डनिकट स्रोतले प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको छलफलमा एउटै कुरामा अडान लिइरहेका कारण छलफल अघि बढ्न नसकेको बताएको छ । ‘प्रधानमन्त्रीज्यू २–४ जना मन्त्री थपेर पुनर्गठन गरेको जस्तो गरौँ, पूर्ण रुपमा पुनर्गठन नगरौँ भन्नुहुन्छ । 

केही मन्त्रालय फुटाएर त्यसमा थपेर जाऊँ भन्ने पक्षमा उहाँ हुनुहुन्छ । यही कुरामा कुरा मिल्न सकिरहेको छैन’, प्रचण्डनिकट स्रोतले भन्यो, ‘ठीकै छ राम्रा काम गरेका पुराना मन्त्री पनि राख्नुपर्ने भए राखौँ, तर एकचोटि सबैलाई बाहिर ल्याऊँ र राख्नुपर्नेलाई मिलाएर राखौँ । त्यसो गर्दा पुनर्गठन गरेको सन्देश पनि जान्छ । सकारात्मक पनि हुन्छ । पुराना राम्रा काम गरेका रहन्छन् । केही नयाँ थपिन्छन् भन्ने कुरा अध्यक्ष(प्रचण्ड)ज्यूको कुरा छ ।’ 

स्थायी कमिटीले पनि त्यही निर्देशन दिएका कारण पूर्ण रूपमै मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने प्रचण्डको मत छ । 

  • प्रकाशित मिति : असोज १४, २०७७ बुधबार २०:५४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया