नेपाली फुटबलका गतिविधि यति बेला ठप्प छन् । कोरोना महामारीकै बीच कतिपय मुलुकले खेलकुद गतिविधि सुरु गरिसक्दा पनि नेपालमा त्यसको प्ररम्भ हुन सकेको छैन । खेलकुद कहिलेदेखि सुरु हुन्छ भन्ने अझै अन्योल छ ।
फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने अभ्यासमा फर्काउन सरकार समक्ष माग गरेको छ ।
कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेल तालिका जनवरीसम्म स्थगित भइसकेको छ ।
घरेलु प्रतियोगिता ठप्प हुँदा खेलाडीको दिनचर्या घरआगनमै सीमित भएको छ । अहिले स्वास्थ मापदण्ड बनाएर अन्य खेलकुद गतिविधि फर्किने जमर्को गरिरहेका छन् । सरकारले अनुमति दिए अभ्यास थाल्ने तयारीमा खेलाडी छन् । अभ्यासमा फर्किनका लागि सरकारसमक्ष अनुमति माग भइरहेको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए ।
घरआँगनको सीमित वातावरणले उनीहरुलाई पिरोलिरहेको छ । फिटनेस समस्याको चिन्ता पनि बढेको छ । घरेलु अभ्यासमा व्यस्त भए पनि मैदानको जस्तो लाभदायी नहुने खेलाडीले बताउँदै आएका छन् । पछिल्लो समय मैत्रिपूर्ण खेलका लागि प्रस्ताव आएकाले विश्वकप छनोटका लागि मैत्रिपूर्ण खेल महत्त्वपूर्ण हुने र त्यसका लागि अभ्यास खाँचो भएको बताउँछन्, व्यवस्थापक मधुसुदन उपाध्याय ।
त्यसो त एन्फाले खेलाडीलाई फिट राख्न आधुनिक प्रविधिसँगै अनलाइनको माध्ययमबाट प्रशिक्षण पनि दिइरहेको छ । विज्ञको सर सल्लाहबाट खेलाडीले टिप्स पनि लिइरहेका छन् । फिफाको गाइड लाइन अनुसार घरमा सीमित भएका खेलाडीलाई शारीरिक हिसाबमा स्वस्थ रहने टिप्स प्रदान गर्दै आएको राष्ट्रिय फुटबल टोलीका फिजियो आविश्कारक पुडासैनीले जानकारी दिए ।
तत्काल कुनै पनि प्रतियोगिता सञ्चालन हुने अवस्था छैन । प्रस्तावमा आएका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि पक्कै लाभदायी हुनेछन् । त्यसका लागि मैदान फर्किन आवश्यक पर्ने होमवर्क गर्न खेलाडी पनि तम्तयार नै छन् । यसका लागि अभिभावक संस्था एन्फाले पहल चाल्नु पर्ने समय टड्कारो देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।