डा. युवराज खतिवडाः शक्तिकेन्द्र रिझाउँदै, पद हत्याउँदै

कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता भाग्यमा विश्वास गर्दैनन् । तर, अहिले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता जसलाई सोधे पनि नेकपामा सबैभन्दा ‘भाग्यमानी’को नाम लिन रत्तिभर ढिलाई गर्दैनन् ।

कम्युनिस्टले नै विश्वास नगर्ने भाग्यको सर्वोच्च स्थानमा पुगेका यी व्यक्ति हुन्– डा. युवराज खतिवडा ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ । यसले नेकपाभित्र मात्र होइन, आम मानिसमा पनि ठूलो तरंग सिर्जना गरेको छ । सामाजिक सन्जाल प्रयोगकर्तादेखि फाट्टफुट्ट खुलेका चिया पसलमा चर्चाको पात्र बनेका छन्, डा. खतिवडा । 

नबनुन् पनि किन ३० भदौमा मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त डा. खतिवडा १५ दिन नबित्दै आकर्षक अर्को नियुक्ति खान सफल भएका छन् । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार खतिवडा अब केही दिनमा अमेरिका हानिँदैछन् । 

तर, डा. खतिवडाको नियुक्तिको श्रृङ्खला र आश्चर्यजनक रुपमा सधैं शक्तिमा रहिरहनु यो पहिलो घटना होइन । 

यसअघि पनि उनी बारम्बार शक्तिमा पुगेका छन्, पावर एक्सरसाइज गरिरहेका छन् । 



कतिसम्म भने यसका लागि उनले विभिन्न नेताहरुलाई आफ्नो प्रलोभनमा पार्न सफल भएका छन्, विभिन्न नेताहरुलाई आफूमाथि विश्वास जिताउन सफल भएका छन् ।

उदाहरणका रुपमा उनी योजना आयोगको उपाध्यक्ष भएको सन्दर्भलाई नै लिन सकिन्छ ।



त्यति बेला नेकपाको नेतृत्व गरेका थिए, माधवकुमार नेपालले । नेपालको नजिक मानिन्थे, डा. युवराज खतिवडा । अनि नेपाललाई रिझाएर डा. खतिवडाले योजना आयोगको उपाध्यक्ष मात्र होइन, नेपाल राष्ट्र बैंकको गर्भनरको नियुक्तिसमेत पाए ।

तत्कालीन नेकपा एमालेमा माधव नेपालको शक्ति कमजोर हुँदै गयो, उदय हुन थाल्यो, केपी ओलीको शक्ति । ओली पार्टीमा शक्तिमा के आएका थिए, डा. खतिवडा उनीसँग नजिकिन थाले । 

अनि पछिल्लो समय ओलीका विशेष विश्वास पात्र बनेका उनले ओलीसँग बार्गेनिङ गरेर लिनु पर्ने सबै पद लिएको प्रत्यक्ष देखिएकै छ । उनलाई ओलीकै जोडबलमा यसअघि राष्ट्रिय सभामा सिफारिस मात्र गरिएन, अर्थमन्त्रीको जिम्मेवारी पनि दिइयो । अर्थ मन्त्रालय सन्चालनका लागि प्रधानमन्त्री ओलीले डा. खतिवडाको नाम छानेपछि नेकपाभित्र नेताहरुले त्यसको विरोध पनि गरे ।

तर, ओली आफ्नो निर्णयमा टसमस भएनन्, उनले खतिवडालाई अर्थमन्त्री बनाउने निर्णयको बचाउ गर्न थाले ।

ओलीकै गृहजिल्लाका खतिवडालाई त्यसपछि प्रधानमन्त्री ओलीको आर्शीवाद प्राप्त हुँदै गयो । यतिसम्मकी खतिवडा योजना आयोगमा दोस्रोपटक उपाध्यक्ष मात्र भएनन्, अर्थमन्त्रीमा पनि दोस्रोपटक उनलाई नियुक्ति गरियो । 

डा. युवराज खतिवडा राष्ट्र बैंकमा तीन दशक जागिर खाएर अवकास प्राप्त गरेका व्यक्ति हुन् । राष्ट्र बैंकबाट अवकास पाएपछि खतिवडाले दरबारियालाई रिझाएर राजाको प्रत्यक्ष शासनकालमा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए । २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनपश्चात् पनि उनले शक्तिकेन्द्रमा रहेर पटक–पटक सुबिधा प्राप्त गर्दै गए । 

गणतन्त्र प्राप्तिपछि २०६६ सालमा बनेको एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्ति भए । यतिसम्म की उनी २०६६ चैत्र ६ गते योजना आयोगको उपाध्यक्ष रहेकै बेला राष्ट्र बैंकको गर्भनर नियुक्त भए । मर्यादाक्रममा आयोगको उपाध्यक्षभन्दा तल रहेको गर्भनर बन्न गएपछि खतिवडाको आलोचना भएको थियो ।  

माधव नेपालको पालामा उपाध्यक्ष बनेका खतिवडा ओलीलाई रिझाएर ०७२ सालमा पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्न सफल भए । २०७४ फागुन १४ गते खतिवडा प्रधानमन्त्री ओलीकै आर्शीवादमा अर्थमन्त्री नियुक्त भए । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभाको मनोनित कोटाअन्तर्गत सांसद भएर मन्त्री बनेका अर्थमन्त्री खतिवडाले राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यकाल सकिएपछि २०७६ फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । तर उनी लगत्तै पछिल्लो दिन फागुन २१ गते पुन अर्थमन्त्रीमा नियुक्ति भए । 

संविधानअनुसार मन्त्री बनेको ६ महिनाभित्र सांसद बन्न नसकेपछि ०७७ भदौ १९ गते खतिवडाले राजीनामा दिएका हुन् । दोस्रोपटक अर्थमन्त्रीबाट राजीनामा दिएको ११ दिनपछि प्रधानमन्त्री ओलीले खतिवडालाई आफ्नो विशेष आर्थिक सल्लाहकार नियुक्ति गरेका थिए । ओलीसँग नजिक भएपछि मात्रै खतिवडाले पाँचपटक नियुक्ति पाएका छन् । 

विभिन्न समयमा योजना आयोग, राष्ट्र बैंक लगायतका क्षेत्रमा सुविधाको नियुक्ती लिएर हालीमुहाली गरेका अर्थमन्त्रीबाट राजीनामा दिनु परेपछि अहिले राजदूत नियुक्त भएका छन् । तर नियुक्तिहरु प्रशस्तै पाएर पनि खतिवडाले उनले प्राप्त गरेको शक्तिको समुचित सदुपयोग गर्न नसकेको आरोप लाग्ने गरेको छ । अर्थमन्त्री रहेकाबेला खतिवडाले व्यापारीलाई फाइदा पुग्नेगरी करमा हेरफेर गरेको र त्यसको सूचना अग्रिम चुहाएको आरोप समेत लागेको थियो ।

ओलीलाई अहिले रिझाएर शक्तिका पदहरुमा रमाइरहेका खतिवडाले आगामि दिन क्याम्प चेन्ज गरेर फेरि शक्तिमा नै विराजमान होलान् कि के गर्लान्, त्यो त केही समय पर्खँदा प्रष्ट हुनेछ ।

  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार १२:१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया