नेकपा उपाध्यक्ष वामदेव गौतम विरुद्धको रिटमा सुनुवाइ सुरु

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । गौतमलाई राष्ट्रियसभामा मनोनयन गरिएको तथा मन्त्री बनाउने तयारीविरुद्ध परेको रिटउपर शुक्रबार सुनुवाइ सुरु भएको हो ।

प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखी शुक्रबारका लागि पेसी सरेको थियो । अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले सर्वोच्च अदालतमा दायर गरेको रिटउपर असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले हालका लागि सांसदका रूपमा कुनै पनि कामकारबाही नगर्न राष्ट्रपति कार्यालय, सरकार र संसदका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहित न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा तोकिएको छ । बुधबारको बहसका लागि रिट निवेदकका तर्फबाट एक दर्जनभन्दा बढी अधिवक्ताले वकालतनामा पेस गरेका थिए । गौतमका तर्फबाट आज एक दर्जनभन्दा बढी वकिलहरूले बहस गर्नेछन् । 

२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ मा पराजित भएका गौतम राष्ट्रियसभाको मनोनित कोटाअन्तर्गत राष्ट्रपतिद्वारा असोज १ गते राष्ट्रियसभाको सदस्य मनोनित भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा मनोनित गरेकी थिइन् ।





  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार १३:३१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया