ओलीलाई प्रचण्डको प्रश्न, सहमति एउटा, काम अर्को गर्दै जाने ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पुनः खटपट सुरु भएको छ । 

यहीबीचमा बिहीवार सरकारले गरेको मुख्यसचिव र राजदूत नियुक्तिको विषयमा प्रधानमन्त्री ओलीले एकलौटी निर्णय गरेको र पार्टीभित्र सल्लाह नगरेको भन्दै अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएका छन् । 

केही दिनयता रोकिएको नेकपाका दुई अध्यक्षको भेटवार्ता शुक्रबार पुनः भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई मुख्यसचिव र राजदूत नियुक्त गर्दा किन पार्टीसँग सल्लाह नगरेको भन्दै असन्तुष्टि पोखे ।

भेटमा अध्यक्ष प्रचण्डले एउटा कुरा गरेर अर्को काम गर्ने भनेर ओलीलाई प्रश्न समेत गरेको स्रोतले जनाएको छ ।

दुई अध्यक्षबीच शुक्रबार दुई घण्टाभन्दा बढी छलफल भएको थियो । ‘पार्टीभित्र एउटा सहमति हुन्छ, तपाई अर्काे गर्दै जानुहुन्छ,’ भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने, ‘अनि कसरी एकताको काम सकिन्छ ।’ प्रचण्डले मुख्यसचिव तथा राजदूत नियुक्तिको विषयमा असन्तुष्टि पोखेका थिए ।

अध्यक्ष प्रचण्डले नियुक्तिका विषयमा असन्तुष्टि पोखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बसेर यस बिषयमा छलफल गरौँला भनेर आस्वस्त पारेको स्रोतको भनाइ छ  । 



सोहीअनुसार शनिबारका लागि नेकपाले सचिवालय बैठक बोलाएको छ । शनिबार ४ बजे बालुवाटारमा बस्ने नेकपा सचिवालय बैठकमा सरकारले हालै गरेको नियुक्ति, मन्त्रीपरिषद् पुनर्गठन, विभिन्न राजनीतिक तथा संवैधानिक नियुक्तिलगायत विषयमा छलफल हुने बताइएको छ । 

भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको सहमति विपरीत चल्ने प्रवृत्तिले अबको अवस्था धेरै जटिल हुने चेतावनी दिएका थिए । 



के होला शनिबारको सचिवालयमा ?

सत्तारुढ नेकपा विगत केही महिनादेखि आन्तरिक विवादमा फस्दै आएको छ । यसबीचमा विवाद बढ्दै गएपछि नेकपाले ३० साउनमा महासचिव विष्णु पौडेलको नेतृत्वमा सुझाव कार्यदल गठन गरेको थियो । 

कार्यदलले एक हप्ता गृहकार्य गरेर ६ भदौमा अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । सोही विषयमा सचिवालय हुँदै स्थायी कमिटीमा छलफल भएपछि नेकपाको बिवाद साम्य भएको थियो । 

भदौ २६ मा बसेको नेकपा स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाउँदै सरकारले संवैधानिक तथा राजनीतिक नियुक्ति गर्दा पार्टी सचिवालयमा छलफल गर्नुपर्ने प्रस्ताव पारित गरेको थियो ।

सोहीअनुसार असोज ४ र ६ गते बसेको नेकपाको सचिवालय बैठकले १० दिनभित्र मन्त्रिपरिषद् पुनर्गठनलगायत पार्टी एकता टुंगोमा पु¥याउन अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो । उक्त १० दिनको समयसीमा शुक्रबार सकिँदै छ । तर, यसबीचमा एकताको खाका त परै जावस् ओली–प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा पनि मापदण्ड बनाउन सकेका छैनन । 

यहीबीचमा बिहीवार सरकारले गरेको नियुक्तिले नेकपाभित्र पुनः विवाद जन्मियो भनेर कतिपयले आँकलन गर्न थालेका छन् ।

बिहीबारको मन्त्रिपरिषद्ले मुख्यसचिवमा शंकरदास वैरागी तथा अमेरिकाका लागि डा. युवराज खतिवडा र बेलायतका लागि नेपाली राजदूतमा मुख्यसचिवबाट राजीनामा दिने बित्तिकै लोकदर्शन रेग्मीलाई सिफारिश गरेको थियो । उक्त विषयले अहिले नेकपाभित्र फेरि असन्तुष्टि बढेको छ । 

नेकपा अध्यक्ष प्रचण्ड निकट स्रोतले प्रधानमन्त्री ओलीको एकलौटी ढंगले चल्ने पाराले पार्टी विवाद झन बढ्ने संकेत दिइसकेको छ ।

यसबीचमा शनिवार बस्ने सचिवालय बैठक सहज हुने स्थिति देखिँदैन । धेरैले सचिवालय बैठकमा नेकपाका नेताबीच चर्काचर्की पर्न सक्ने अनुमान समेत गरेका छन् । त्यसो त त्यो कुरा बैठकमा गएपछि मात्रै थाहा हुनेछ । 

  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार १६:१३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया