चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।
अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनशनको २० दिन पुग्दा समेत सरकारले केसीका माग पूरा गर्न कुनै कदम नचालेको प्रदर्शनमा सहभागी युवाहरुले बताएका छन् । भदौ २९ गते जम्लाबाट अनशन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् ।
केसीको स्वास प्रस्वासमा समस्या देखिएको, बोल्न सक्ने अवस्था नरहेकाले तत्काल माग पूरा गरी केसीको जीवन रक्षा गर्न माग गरिएको हो । केसीको उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आइसियुमा उपचार गर्नुपर्ने बताए पनि केसीले मानेका छैनन् । सरकारको प्राथमिकता देश र जनताका समस्या नभएकाले केसीसँग वार्ताका लागि अहिलेसम्म कुनै पहल समेत नगरेको उनीहरुको आरोप छ ।
माइतीघर मण्डलमा युवाहरुले ‘केसीको आवाज कहिले सुन्छौ सरकार’ भन्दै नारा समेत लगाएका थिए । केसीले ६ बुँदे माग अघि सार्दै अनशन सुरु गरेका हुन् । दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका माग उनले राखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।