सार्वजनिक सवारीमा ठेलमठेल, उपभोक्तामाथि ‘ठगी’

नेपालमा कोरोना महामारीको उच्च जोखिम बढिरहँदा सवारी साधनमा यात्रुहरूको ‘ठेलमठेल’ हुने गरेको पाइएको छ । जसका कारण सर्वसाधारणका लागि बाध्यकारी बनेको सार्वजनिक यातायातको यात्रा जोखिमपूर्ण बनेको छ । स्वास्थ्य सुरक्षा मापदण्डअनुसार आवश्यक भौतिक दूरी र अन्य सुरक्षा मापदण्ड नअपनाउँदा जोखिम बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् । 

सवारी साधनमा यात्रु ‘कोचाकोच’ भए पनि भाडा भने ५० प्रतिशत नै थप लिइरहेको गुनासो यात्रुहरूको छ । एकातिर कोरोनाको महामारीबाट उपभोक्ताको क्रयशक्ति कमजोर भएको छ । अर्कोतिर स्वास्थ्यमा पनि खेलवाड गर्नु यातायात व्यवसायी र सरकारले सर्वसाधारणमाथि गरेको ‘ठगी’ भएको अधिकारकर्मी बताउँछन् ।

‘मानिसहरूसँग आम्दानी शून्य छ । व्यवसायीलाई मात्रै घाटा लाग्ने कुरा गर्दै यस्तो बेलामा ५० प्रतिशत भाडा बढाउनु नै राज्यले सरासर ‘ठग’ भनेको हो’, उपभोक्ता अधिकारकर्मी प्रेमराज महर्जनले फरकधारसँग भने, ‘व्यवसायीले २ सिटमा एक जना मात्रै राख्न पाउने ‘नक्कली’ प्रावधान बनाएर हुन्छ ? यदि जनसाधारणको हितमा थियो भने खै प्रभावकारी अनुगमन र कारबाही गरेको ?’

अर्का अधिकारकर्मी माधव तिमिल्सिनाले पनि राज्यले व्यवसायीसँगको मिलोमतोमा ठगी गरिरहेको दाबी गरे । उनले भने, ‘स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना नगरी सवारीमा खुलमखुला कोचाकोच यात्रु राखेर आम सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । त्यसरी कोचेर पनि भाडामा ५० प्रतिशत वृद्धि भएको छ । न त कतै अनुगमन छ, न जिम्मेवार निकायको ध्यान गएको छ । यो र राज्य र व्यवसायीको मिलोमतोमा सरासरी ठगी हो ।’ 

यता सार्वजनिक सवारी चालक भने आफूहरूलाई जानकारी नै नभएको जवाफ दिन्छन् । कोटेश्वरदेखि गोपीकृष्ण ‘रुट’ मा चल्ने नेपाल यातायातका चालकसँग सोध्दा आफूलाई साहुले भाडा बढाएर लेऊ भने पनि यात्रु कम राख नभनेको बताए ।

उनले भने, ‘हामीले बेलुका साहुलाई बुझाउनुपर्छ । भाडाको लिस्ट टाँसिदिएको छ । तर सिटमा एकजना मात्रै राख भनेको छैन । तर, हामीले सधैं मास्क र सेनिटाइजर प्रयोग गरिरहेका छौं ।’



दिउँसोमा नभए पनि साँझ बिहानको समयमा सबै रुटका अधिकांश सवारीमा यात्रुको चाप धेरै रहने यात्रुहरू बताउँछन् ।

यातायात व्यवसायीले भने फाट्टफुट्ट कमजोरी देखिए पनि ‘कोचाकोच’ भने नभएको दाबी गर्छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले फरकधारसँग भने, ‘हाम्रो मातहतमा रहेका सबै व्यवसायीलाई तालिम दिएर मात्रै ‘फिल्ड’मा पठाएका छौं । फाट्टफुट्ट समस्या भए सम्बन्धित निकायले कारबाही गर्नुपर्‍यो नि !’



यता यातायात व्यवस्था विभागले पनि अनुगमन र कारबाही तिब्र पारिएको दाबी गरेको छ ।  विभागको प्रवक्ता लोकनाथ भुसालले भने, ‘विभागले निरन्तर अनुगमन गरिरहेको छ । यात्रु कोचाकोच गरेको र बढी भाडा लिएको पाइएमा खबर गर्नुस् । हामी कारबाही गर्छौं । अहिलेसम्म हामीले धेरै कारबाही गरिसकेका छौं ।’

विभागले ट्राफिक प्रहरीसँगको सहकार्यमा कारबाही भइरहेको जानकारी दिएको छ । 

यस्तो भन्ने सवारी चालकहरू ट्राफिक प्रहरीको आँखा छल्न भने ‘खप्पिस’ छन् ।

ट्राफिक प्रहरीकाअनुसार यात्रु कोचेर ल्याएका कयौं सवारीहरू चेकिङमा परेको थाहा पाउँदा परैबाटै बाटो मोड्ने गर्छन् ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले भने, ‘थाहा छैन भन्ने चालकहरू हाम्रा आँखा छल्न त थाहा पाउँछन् । त्यस्ता कयौंलाई हामीले सम्झाइ–बुझाइ गरी पठाएका छौं ।’

ट्राफिक प्रहरी महाशाखा काठमाडौंको पछिल्लो तथ्यांकअनुसार बढी यात्रु बोक्ने ४ हजार १ सय ७६ वटा बसलाई सम्झाइ–बुझाइ गरी पठाइएको छ भने बढी भाडा लिने ५२ वटा सवारीलाई जरिवाना गरिएको छ ।

सरकारले पछिल्लो पटक गत असोज १ गतेदेखि नै लामो दूरीको सार्वजनिक यातायात चलाउने गर्ने अनुमति दिएको थियो । त्यतिबेला सार्वजनिक यातायातले कोरोना महामारीबाट बच्न आवश्यक सजगता अनिवार्य रूपमा अपनाउनुपर्ने, भौतिक दूरी कायम हुने गरी एक सिटमा एकजना मात्र बस्न पाउने मापदण्ड बनाएको थियो ।

मापदण्डअनुसार उभिएर आवत–जावत गर्न नपाउने, ढोकामा अनिवार्य स्यानिटाइटर राख्नुपर्ने, चालक र सहचालकसहित यात्रुले अनिवार्य मास्क र पन्जा लगाउनुपर्ने हुन्छ । यी मापदण्ड पालना गरेमा सवारीसाधनले सरकारले तोकिएको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म भाग लिन पाउनेछन् ।

  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १४:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया