कोरोनाका कारण शिथिल बनेको पर्यटन व्यवसायको पुनरुत्थानका लागि चितवनका पर्यटन व्यवसायीले नयांँ अवधारणा अघि सारेका छन् । थलिएको व्यवसायलाई उकास्न व्यवसायीले पर्यटकका लागि साइकल सफारी अवधारणा अघि सारेका हुन् ।
सौराहा, पटिहानी र मेघौलीका पर्यटन व्यवसायीले पर्यटन प्रवर्द्धन अभियान सुरु गरेका छन् ।
अवधारणा अन्तर्गत सौराहाबाट हात्ती प्रजनन केन्द्र हुँदै सीतामाई, घटगाई–जगतपुर हुँदै मेघौलीको गोलाघाटसम्म ५० किलोमिटरको साइकल सफारी सञ्चालन गरिनेछ ।
मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने यो मार्ग सञ्चालनका लागि भने चितवन राष्ट्रिय निकुञ्जले स्वीकृति दिनुपर्नेछ ।
सौराहाको पर्यटनलाई साइकलको माध्यमबाट पश्चिम चितवनको पर्यटनसँग जोड्ने नयाँ अवधारणाका साथ साइकल सफारी सञ्चालनको तयारी भएको क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए ।
हाल लोथरबाट राप्तीको ड्याक हुँदै साइकल मार्ग सञ्चालन भए पनि अबको सफारीले पर्यटन गन्तव्य जोड्न मद्दत पुग्ने उनको भनाइ छ । हाल यहांँ पर्यटकले औसत २ रात ३ बसाइ गर्दै आएका छन् ।
सौराहाबाट पटिहानीसम्म साइकलबाट आउन सकिने र पटिहानीमा रहेको अम्ब्रेला स्ट्रिटमा आएर विश्राम गर्न सकिनेछ ।
साइकल सफारीका कारण पर्यटकले यहाँको प्राकृतिक, सांस्कृतिक विषयको सूक्ष्म अध्ययन गर्न पाउने उनको भनाइ छ ।
उनका अनुसार यहाँको ऐतिहासिक, पुरातात्विक धरोहर सीतामाई र विक्रमबाबा मन्दिरको पनि गरिमा बढ्नेछ । साइकल सफारी सञ्चालन भए सौराहादेखि मेघौलीसम्मको पर्यटन क्षेत्रलाई एकीकृत गर्न सहयोग पुग्नेछ ।
अन्तर्राष्ट्रिय अभ्यासमा साइकल सफारीको महत्त्व उत्तिकै भए पनि चितवनको जंगल सफारीका लागि त्यति प्रभावकारी नहुने बताउँछन्, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल ।
उनका अनुसार पर्यटकको व्यक्तिगत सुरक्षा र निकुञ्जकै सुरक्षाको जोखिम बढ्न सक्छ । साइकल सफारी व्यवसायीको हितमा भए पनि निकुञ्ज र पर्यटक सुरक्षालाई गहिरो रुपमा अध्ययन गरेर मात्र सञ्चालन गर्न सकिने उनको बुझाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।