आइपिएल : चौथो जितको खोजीमा दिल्ली र बैंग्लोर

इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिन प्रतिदिन खेलाडीमा उत्साह र दर्शकमा उत्सुकता बढ्दै छ । प्रत्येक खेलले लिग समीकरणमा फेरबदल ल्याइरहेका छन् । लिग अन्तर्गत सोमबार हुने खेलले यसको रोमाञ्चकतालाई अझै बढाउने निश्चत छ किनकि आज शिर्ष स्थानको दौडमा रहेका दिल्ली क्यापिट्ल्स र रोयल च्यालेन्जर्स बैंग्लोरले एक अर्काको सामना गर्नेछन् । आजको खेलमा जित हात पर्ने टोली लिगको शिर्ष स्थानमा उक्लिनेछ ।

खेल नेपाली समय अनुसार राति पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  हुनेछ । समान ४ खेलबाट समान ३ जित र १ हार बेहोरेका दिल्ली लिगको दोस्रो स्थानमा रहँदा बैंग्लोर तेस्रो स्थानमा छ ।

यो सिजन दुवै टोली उत्कृष्ट लयमा देखिए तापनि बैंग्लोरलाई रन रेटको चिन्ताले सताएको छ । उसको रन रेट माइनस ०.९५४ छ । त्यस्तै दिल्लीको रन रेट प्लस ०.५८८ छ ।

पछिल्लो खेल जितेर आएका दुवै टोली आज उच्च मनोबलको साथमा मैदानमा उत्रिने छन् । उत्कृष्ट रहेकाले यी दुईबीचको भिडन्त हेर्न लायक हुनेछ । 

कप्तान विराट कोहली लयमा फर्किनु बैंग्लोरका लागि राम्रो संकेत हुन सक्छ । अघिल्ला ३ खेलमा खासै राम्रो प्रदर्शन गर्न नसकेका कोहलीले चौथो खेलमा भने राजस्थान रोयल्सविरुद्ध ७२ रनको अविजित पारी खेलेका थिए । 

बैंग्लोरका लागि ब्याटिङमा ओपनर देवदत्त पडिक्कल र विकेटकिपर ब्याट्म्यान एबी डिभिलियर्स उत्कृष्ट लयमा देखिँदा बलिङमा युजवेन्द्र चाहल र इसरु उडान उच्च लयमा छन् । देवदत्तले ४ खेल खेल्दा तीन अर्धशतकसहित १७४ रन प्रहार गरेका छन् । डिभिलियर्सले पनि ४ खेलबाट २ अर्धशतकसहित १४६ रन प्रहार गरेका छन् ।  



चाहलले ४ खेलबाट ८ विकेट हात पर्दा उडानले २ खेलबाट ४ विकेट लिएका छन् ।

त्यस्तै दिल्लीका कप्तान श्रेयस अयर पनि लयमा देखिएका छन् । उनले पछिल्लो  खेलमा कोलकाता नाइटराइडर्सविरुद्ध ८८ रनको अविजित पारी खेलेका थिए । उनले चार खेलमा १ अर्धशतकसहित १७० रन प्रहार गरेका छन् । दिल्लीका ओपनर पृथ्वी शा पनि लयमा देखिएका छन् उनले ४ खेलमा २ अर्धशतकसहित १३७ रन प्रहार गरेका छन् । 



दिल्लीका लागि बलिङमा कगिसो रावडा र एनरिच नोर्टजेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । समान ४ खेल खेलेका रावडाले ८ तथा नोर्टजेले ५ विकेट हात पारेका छन् ।

यी दुईबीच हालसम्म भएको प्रतिस्पर्धालाई हेर्दा बैंग्लोर बलियो स्थितिमा देखिन्छ । यी दुई टोलीबीच २४ खेलमा प्रतिस्पर्धा हुँदा बैग्लोरले १५ तथा दिल्लीले ८ खेल आफ्नो पक्षमा पारेका छन् भने एक खेल बिना नतिजा टुङ्गिएको छ । 

अघिल्लो सिजनमा भएका दुई भेटमा भने दुवै खेल दिल्लीले आफ्नो पक्षमा पारेको थियो । दिल्ली पहिलो खेलमा ४ विकेट तथा दोस्रो खेलमा १६ रनले विजयी भएको थियो । 

  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १२:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया