अमेरिकाले आफ्नो आप्रवासी नियममा परिवर्तन गरेको छ । परिवर्तित नियमानुसार अब कम्युनिष्ट पार्टीका सदस्यले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने भएका छन् ।
चीनसँग कटु सम्बन्ध बढ्दै गएको अवस्थामा अमेरिकाले यस्तो नियम ल्याएको हो । यद्यपि, अमेरिकाले कुन–कुन मुलुकका कम्युनिष्टलाई नयाँ नियम लागू हुने हो भन्ने पनि खुलाएको छैन ।
गत शुक्रबार अमेरिकाको युएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (युएससीआइएस)ले जारी गरेको घोषणामा यो विषय उल्लेख छ । अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो घोषणा गरिएको हो ।
यसअघि अमेरिकी संसद् कंग्रेसले पारित गरेको सुरक्षाको नियम अनुसार नै आप्रवासी नियममा परिवर्तन गरिएको हो । युएससिआइएसले विज्ञप्ति जारी गर्दै कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख गरेको छ ।
यसअघि नै अमेरिकामा स्थायी बसोवासको अनुमति वा नागरिकता पाइसकेका मानिसको हकमा यो नियम लागू हुने वा नहुने पनि खुलाइएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।