प्रदेश ५ को प्रदेश सभामा देखिएको विद्रुप रुप

प्रदेश ५ अहिले चर्चाको केन्द्रमा छ । प्रदेशको स्थायी राजधानी र नामाकरणमा विवाद भएपछि प्रदेश ५ अहिले चर्चाको केन्द्रमा आएको हो । नआओस् पनि किन प्रदेश ५ मा केही दिन यता सडकदेखि सदनसम्म तात्न थालेको छ ।

बिहीबार प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी लैजाने प्रस्ताव अगाडि सारेपछि प्रदेश सभा र प्रदेशमा बुटवलका सडक तातिन थालेको हो । तत्कालीन शेरबहादुर देउवाको सरकारले प्रदेशको अस्थायी राजधानी बुटवललाई तोकेको थियो । 

तर, त्यसयता नेकपा तथा नेपाली कांग्रेसका नेताहरु प्रदेशको राजधानी विभिन्न ठाउँमा बनाउने होडबाजीमा लागेका थिए । रुपन्देहीका नेताहरु प्रदेशको स्थायी राजधानी बुटवलमा नै बनाउने प्रयासमा थिए भने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत दाङका नेकपा नेताहरु प्रदेशको राजधानी दाङ बनाउने प्रयासमा लागिसकेका थिए ।

त्यसैको अन्तिम स्वरुप हो, पछिल्लो समय बुटवलमा र सोमबार प्रदेश ५ को प्रदेश सभामा देखिएका विभिन्न विद्रुप दृश्य । 

यसबारे विस्तृतमा चर्चा गरौँ । 

बिहीबार मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता शंकर पोखरेलको जोडबलमा नै प्रदेश सरकारले प्रदेशको राजधानी दाङ लैजाने प्रस्ताव गरेका थिए । उनले यसअघि नै चलाखीपूर्ण रुपमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई चिठी लेखेका थिए र दाङलाई प्रदेश राजधानी बनाउने विषयमा दुवै अध्यक्षको सहमति पनि लिएका थिए । 



पोखरेल आइतबार दिनभर काठमाडौंमा यही विषयमा दुई अध्यक्षलाई सहमत गराउन आएका थिए । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पोखरेलसहित नेकपा महासचिव विष्णु पौडेल र नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच लामो समय बालुवाटारमा वार्ता भयो । 

आइतबार दिनभर नै नेकपाका यी दुई अध्यक्षले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दाङमा राजधानी बनाउन सहयोग गर्न अनुरोध गर्दै फोनसमेत गरेका थिए । 



आइतबार साँझ यो छलफललाई आफ्नो पक्षमा पारेपछि पोखरेल प्रदेशमा फर्किए । प्रदेशको प्रदेश सभा बैठक सोमबारका लागि बोलाइएको थियो, त्यसैले उनी आइतबार नै फर्किनु पर्ने थियो । आइतबार भैरहवा विमानस्थलबाट निवासमा पुग्दानपुग्दै पोखरेलको गाडीमाथि ढुंगामुढा भयो ।

बुटवलमा भएको ढुंगामुढाको यो दृश्य पहिलो होइन । यसअघि नै बुटवलको सडकमा टायर पोलिन थालेको थियो, मानिसहरुले आन्दोलन गरिसकेका थिए । हामीले सामाजिक सन्जालमा एउटा भिडियो क्लिप देखिसकेका छौँ, त्यहाँ एक निर्दोष नागरिकको स्कुटर जलाइएको छ ।

र, हामीले देखेका पनि छौँ, केही वर्षअघि प्रदेश ५ को बुटवलका सडकमा नै अखण्ड प्रदेशका नारामा निकै धेरै जुलुस निस्किएका थिए ।

र, त्यति बेला प्रदेशका नेता तथा नेकपाका महासचिव विष्णु पौडेले सार्वजनिक रुपमा नै भनेका थिए– प्रदेशको राजधानी बुटवलबाट अन्यत्र लगिए यस्तै आन्दोलन हुन्छ । 

आइतबार पौडेलले बालुवाटारमा यस्तै अडान राखेका थिए । तर, उनी बालुवाटारमा एक्लिए । 

अब लागौँ, सोमबार दिउँसो प्रदेश सभामा भएको दृश्यबारे । 

प्रदेश सभामा जब सभामुखले त्यहाँका कानुनमन्त्रीलाई प्रदेशको राजधानी र नामबारे प्रस्ताव अगाडि सार्न लगाए, नेपाली कांग्रेसका सांसदहरुले आफ्नो विरोधको चरम उत्कर्ष देखाए । कांग्रेसका सांसदहरु त्यसअघि पनि रोस्टम घेराउमा नै थिए । तर, त्यसपछि उनीहरु एकाएक आफ्ना कुर्चीतिर फर्किए र त्यसलाई फुटाउन थाले । 

यहीबीच प्रदेशका एक मन्त्रीले मर्यादापालकलाई भने– विरोध गर्नेहरुलाई घिसारेर बाहिर निकालिदिनू ।

प्रदेश सभामा कांग्रेस सांसदले जे गर्न नहुने थियो, त्यो गरे । त्यसपछि त्यहाँका मन्त्रीले जे भन्नु नपर्ने हो, त्यो भने ।

यसले अहिले हामी कस्तो लोकतन्त्रमा बाँचिरहेका छौँ र कस्ता नेताहरुबाट हामीले भोलिको सपनाहरु देखिइरहेका छौँ भन्ने स्पष्ट देखाउँछ । 

यो विद्रुप रुप इतिहासका पानामा पक्कै दर्ज हुनेछ ।

  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १८:८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया