‘दाङ राजधानी भयो भनेर मैले प्रदेश सभामा कुर्सी उचालेको होइन’

नवलपरासीका सांसद हुन् वैजनाथ कलवार । नवलपरासी २ खबाट प्रत्यक्ष विजयी भएका कलवार त्यही प्रदेश सभाका सदस्य हुन्, जुन प्रदेश सभामा सोमबार कुर्ची तोडफोड भयो र प्रदेश ५ को प्रदेश सभामा एउटा विद्रुप रुप देखियो ।

प्रदेशको राजधानी दाङको देउखुरीलाई बनाउने विषयमा प्रस्ताव पेश हुने समयमा प्रदेश सभामा भएको यो विरोधमा नेपाली कांग्रेसका सांसदहरु कुर्सी र टेबल तोडफोडसम्ममा उत्रिए । 

त्यसरी कुर्सी तोडफोड गर्ने र त्यहाँ भएका टेबल पल्टाउने नेपाली कांग्रेसका सांसदमध्ये एक हुन्, वैजनाथ कलवार । 

हामीले सोमबार साँझ कलवारसँग कुराकानीमा सोध्यौँ, तपाईं किन कुर्सी तोडफोडमा लाग्नु भयो ?

प्रदेश सभा बैठक स्थगित भएपछि त्यहाँबाट गाडीमा कतै फर्किँदै थिए, कलवार । उनले शालिन आवाजमा भने, ‘यो प्रक्रियाको विरोध गर्न भएको घटना हो ।’

त्यसपछि उनी अगाडि बढे । भने, ‘अहिले हाम्रो प्रदेशमा नेपाल कम्युनिस्ट पार्टीले जुन दम्भ देखाएको छ, त्यसको जति विरोध गरे पनि पुग्दैन । खासमा उहाँहरुले यसलाई प्रक्रियाबाट अगाडि बढाउनु पर्ने थियो । तर, उहाँहरु आफैंलाई सर्वेसर्वा भन्दै अगाडि बढ्नुभयो र अहिले हामी यो अवस्थामा पुग्यौँ ।’



कलवारलाई यो कुनै नियोजित घटना हो भन्ने लाग्दैन । ‘यो खासमा जुन क्रिया भएको छ, त्यसको प्रतिक्रिया मात्र थियो,’ उनले भने, ‘किनकि यसका आफ्ना प्रक्रिया थिए, त्यसमा प्रदेशको सरकारले जनताको रायलाई पनि नमान्ने आफ्नो घमन्डी रुप देखाएको थियो ।’

त्यसपछि उनले प्रदेश सरकारले राजधानी र नाम तोक्नका लागि बनाएको समितिको स्मरण गरे । ‘प्रदेशका १२ वटा जिल्लामा गएर हामीले जनताका राय ल्याएका छौँ,’ उनले भने, ‘त्यो समितिमा म पनि थिएँ, नवलपरासीबाट । हामीले त्यो प्रतिवेदनमा रुपन्देही, कपिलवस्तु र दाङलाई प्रदेशका राजधानी हुनसक्छन् भनेर सुझाव दिएका छौँ । त्यो सुझाव खासमा हाम्रो सुझाव होइन, जनताको सुझाव हो यो प्रदेशका ।’



तर, उनी प्रदेश सरकारले ल्याएको प्रस्तावमा त्यो प्रतिवेदनबारे कुनै उल्लेख नै नभएको, त्यसमा त्यसबारे कुनै छलफल नगरिएको बताउँछन् । ‘हामीले सबैभन्दा पहिले त्यो समितिले ल्याएको प्रस्तावमा छलफल गरौँ भन्ने आवाज राखेका थियौँ, त्यसमा छलफल हुनु पर्ने थियो,’ उनले भने, ‘तर, न यसमा प्रदेशको सरकारले गम्भीर भएर हुन्छ भन्ने कुरा गर्यो, न प्रदेशका सभामुखज्यूले नै यसलाई सुन्नु भयो ।’

‘आज पनि हामीले यस विषयमा छलफल हुनुपर्छ भनेका थियौँ,’ कलवारले थपे, ‘तर, करोडौं खर्च गरिएर बनाइएको त्यो समितिको प्रतिवेदनलाई कसैले पनि वास्ता गरेन । यसले प्रष्ट बनाएको छ– झन्डै एक करोड खर्च गरेर बनाइएको त्यो प्रतिवेदन नेकपाको दुई तिहाई दम्भमा लपेटिएको छ । यो गलत हो ।’

कलवारलाई हाम्रो दोस्रो प्रश्न थियो– अनि के कुर्सी फुटाएर तपाईंहरुले दाङ राजधानी बनाउन हुँदैन भन्न खोज्नु भएको हो ?

‘दाङ राजधानी बनाउने विषयमा विरोध गर्न हामीले कुर्सी फुटाएको होइन,’ उनले अलिक स्पष्ट होस् भनेर यसलाई फेरि भने, ‘हामीलाई दाङ राजधानी हुँदा पनि कुनै गुनासो हुने थिएन । तर, यो सब प्रक्रियागत ढंगमा गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले प्रक्रियामा जाऔँ भनेर सभामुखलाई भनिरहेका थियौँ, प्रदेश सरकारलाई भनेका थियौँ । तर, उहाँहरु कसैले मान्नु भएन ।’

उनले फेरि जोडे, ‘हो, आज कुर्ची फोड्नु पर्ने अवस्था आइपर्यो, तर यो दाङको विरोध गर्न गरिएको होइन । हामीले होइन, प्रदेशको सरकारले फुटालेको हो यो कुर्ची । किनकि यो क्रियाको प्रतिक्रिया मात्र हो ।’

कलवारले सदन भनेको प्रतिपक्षको भएकाले सरकारले सदनमा प्रतिपक्षको आवाजलाई पनि उत्तिकै ठाउँ दिनु पर्ने पनि बताए ।

  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १९:२२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया