‘प्रदेश सभाको कुर्ची फोडेकोमा कुनै पश्चाताप छैन’

प्रदेश ५ को प्रदेशसभामा आज महत्वपूर्ण अजेन्डा थियो– प्रदेशको स्थायी राजधानी र नामको विषयमा । संसदमा प्रदेशका कानुनमन्त्रीले यो अजेन्डा प्रस्तुत गर्न खोज्दै थिए । तर, प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद नै चल्न दिएन । संसद चल्न दिइएन मात्र होइन, नेपाली कांग्रेसका सांसदले प्रदेश सभामा तोडफोड नै गरेका छन् । उनीहरुले कुर्ची उचालेका छन् र त्यहाँका टेबलहरु भत्काएका छन् ।

यसरी संसदमा बाहुबल देखाउने एक कांग्रेस सांसद हुन्, रुपन्देही ४ खबाट प्रत्यक्ष विजयी कांग्रेस सांसद वसिउद्दिन खाँ । खाँसँग फरकधारले सोमबार साँझ किन यस्तो विद्रुप रुप देखाउनुभएको र के कुर्ची फोडेको कुनै पश्चाताप छैन भनेर सोधेको थियो ।

संसदमा भएको यो घटनामा खाँले पछुतो मान्नु त कता हो कता, उनले यसमा आफूले ठिक गरेको तर्क गर्नतिर लागे । उनले फरकधारलाई भने–

आज संसदमा जे भएको छ, त्यो हामीले होइन, प्रदेश ५ को सरकारले सिर्जना गरेको हो । खासमा उनीहरुले आफ्नो बहुमत भएको दम्भ प्रदेश सभामा देखाएका हुन् । यसअघि प्रदेश सरकारले नै प्रदेशको राजधानी कहाँ राख्ने भनेर एउटा टोली बनाएको थियो । 

त्यो टोलीले प्रदेशका सबै जिल्ला मात्र घुमेन, भारतमा पुगेर समेत आफ्नो एउटा प्रतिवेदन दिएको छ । तर, करोडौं खर्चिएर बनाइएको त्यो प्रतिवेदनबारे सभामा कुनै छलफल भएन । हामीले त प्रदेश सभामा त्यो छलफल हुनुपर्छ भनिरहेका थियौँ । तर, कतै पनि त्यसको विषय आएन । सभामा एउटा नियमअनुसार उनीहरु चल्न खोजेकै देखिएन । 

त्यसपछि हामीले विरोध गर्ने भयौँ । सरकारलाई मात्र होइन, प्रदेशका सभामुखलाई पनि हामीले सहमतीमा अगाडि बढ्नु पर्छ, त्यसको वातावरण बनाऔँ भनेका थियौँ । तर, त्यसमा पनि कसैले सुनुवाई नै गरेन । 



सबैलाई थाहा छ, सभामुख कुनै दलबाट निर्वाचित भए पनि सबैको साझा हुनुपर्छ । निर्वाचित भइसकेपछि सभामुख कुनै एउटा दलको पेवा होइन । तर, प्रदेशका सभामुखज्यूले त सरकारको एकल समर्थन मात्र लिनुभयो, उहाँले एकल रुपमा सरकारलाई समर्थन गर्नुभयो । 



हामीले के मात्र भनेका थियौँ भने यो विषयमा केही दिन छलफल गरौँ । तर, प्रदेशको सरकार र सभामुख पनि यो विषयमा छलफलमा तयार नै हुनु भएन । नेपाली कांग्रेसमात्रै होइन, जनता समाजवादी पार्टीका पनि यसको विरोधमा हुनुहुन्थ्यो ।

यसअघि एउटा समिति बनेको थियो, सरकारले त्यसका लागि करोडौं खर्च गरेको छ । त्यो करोडौं खर्च पनि जनताबाट उठाइएको पैसाबाट नै खर्च भएको हो । त्यसरी अध्ययन गरेर बनाएको प्रतिवेदनमाथि कुनै चर्चा नै नहुने हो भने त्यो खर्च हिजो किन गरियो ? 

उहाँहरुले छलकपट गरेर चोर बाटोबाट यो प्रस्ताव ल्याउनु भयो । प्रतिवेदनले पनि राजधानी कहाँ बनाउने भन्ने विकल्प दिएको छ । त्यसको अध्ययन हुनुपथ्र्यो, तर त्यसमा त एक चरणको पनि छलफल भएन । बरु उल्टै प्रतिवेदन लुकाउने काम भएको छ ।

आज प्रदेश सभामा जे भएको छ, त्यो हामीले चाहेको कुरा होइन । यो कसैले पनि चाहने कुरा पनि होइन । 

तर, सभामुखले आफ्नो कर्तव्य निर्वाह नगरेपछि यस्तो भयो । 

हो, आजको प्रदेश सभामा सबैभन्दा पहिले मैले कुर्सी उचालेँ । यो मैले गर्न नहुने थियो भन्ने अहिले मलाई लागेको छैन । किनकि यो परिस्थिति सिर्जना गरेको त यहाँको सरकारले हो । 

सभामुखका कारण यो परिस्थिति सिर्जना भएको हो । 

कुर्ची उचालेर फुटाउनुभन्दा पहिले हामीले चिच्याएका थियौँ, यो भएन भनेका थियौँ । तर, हाम्रो आवाजलाई कसैले पनि सुनेन । कसैले पनि हाम्रो विषयमा चासो दिएन । 

हामी त अहिले आफ्नो कुरा राख्दा यो सरकारको बन्दी भएका छौँ । हिजोमात्र हाम्रा साथीहरुलाई पक्राउ गरिएको छ, बन्दी बनाइएको छ । बुटवलमा कर्फ्यू लगाइएको छ । कर्फ्यू लगाएर गर्ने काम यो होइन, यो त प्रक्रियामा आएर गरिनु पर्ने काम हो ।

हिजो प्रतिनिधिसभामा माओवादी नेताहरुले पनि यसैगरि कुर्ची फुटाउनु भएको थियो । तर, यसको अर्थ होइन, अहिले कांग्रेस माओवादी भएको छ । यो त उहाँहरुले हामीलाई उक्साएर बाध्य बनाएको कुरा हो । दुई तिहाइको दम्भ देखाएर उहाँहरुले विपक्षीको आवाज दबाउन खोज्नु भयो ।

आलोचना र आवाज दबाउन खोज्दा भएको घटनामा मैले आज प्रदेशसभाको कुर्ची फुटाएँ । 

यसमा मलाई कुनै पश्चाताप छैन । 

आज प्रदेश ५ काे प्रदेश सभामा भएकाे घटनाबारे फरकधारले तयार पारेकाे यी समाचार पनि पढ्नुहाेस्– 

‘दाङ राजधानी भयो भनेर मैले प्रदेश सभामा कुर्सी उचालेको होइन’

प्रदेश ५ को प्रदेश सभामा देखिएको विद्रुप रुप

प्रदेश ५ राजधानी विवादः दिनभर बालुवाटारमा गर्मागर्मी बहस

तोडफोडका उस्तै दृश्य : त्यो संविधानसभा र यो प्रदेशसभा

बुटवलको बर्बरताः के विष्णु पौडेलले देलान् स्कुटी जलाइनुको जवाफ ?

  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार २०:३५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया