गत शुक्रबार सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएका अफगानिस्तानका क्रिकेटर नजिबउल्लाह ताराकाईको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको छ ।
पूर्वी नङग्रको सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारको क्रममा कोमामा निधन भएको अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ ।
आक्रमक ओपनिङ ब्याट्म्यान तथा मिलनसार नजिव ताराकाईको निधनबाट अतुलनीय क्षति पुगेको छ र पूरा अफगानिस्तान क्रिकेट परिवार स्तब्ध भएको छ भन्दै अफगानिस्तान क्रिकेट बोर्डले सामाजिक सञ्जाल ट्विटरमार्फत श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
सन् २०१४ मा बङ्गलादेश विरुद्धको खेलमा अफगानिस्तानका लागि डेब्यु गरेका २९ वर्षीय ताराकाईले १२ टि–२० तथा २०१७ मा आयरल्यान्डविरुद्ध १ मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । अन्तिम टि–२० गतवर्ष बङ्लादेशविरुद्ध खेलेका नजिवले टि–२० मा २५८ रन प्रहार गरेका थिए ।
उनको निधनको खबरपछि नेपालका पूर्व कप्तान पारस खड्का, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लगायतले सामाजिक सञ्जालमार्फत दुःख मनाउ गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।