ज्ञानको हस्तान्तरण र निर्माणमा शिक्षकको भूमिका महत्वपूर्ण : शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्कटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकारवालालाई आह्वान गरेका छन् । 

विश्व शिक्षक दिवस–२०२० का अवसरमा विश्वस्तरमा भर्चुअल रुपमा आयोजित कार्यक्रमको दक्षिण एशियास्तरीय समूहगत छलफलमा (प्यानल डिस्कसन) नेपालका तर्फबाट सम्बोधन गर्दै उनले ज्ञानको हस्तान्तरण र निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिका हुने तथा गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक आवश्यक पर्ने भएकाले उत्कृष्ट नतिजा दिन हर–हमेशा आफूलाई अब्बल सावित गर्न शिक्षक समुदायमा आग्रह गरे ।

मन्त्री पोखरेलले कोरोना महामारीपछि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइमा निरन्तरता दिइएको र यसमा शिक्षक समुदायले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट पारे । 

सन् १९९४ मा संयुक्त राष्ट्र सङ्घले  शिक्षण पेशा र पेशाकर्मीको  काम, कर्तव्य र अधिकार सम्बन्धी सिफारिसको सम्झना र समीक्षा गर्न हरेक अक्टोबर ५ मा यो दिवस मनाउँदै आएको छ । यस वर्षको दिवसका अवसरमा २४ घण्टा डिजिटल र्यालीका रुपमा हरेक मुलुकको समय र पालोअनुसार छलफल गराइएको थियो ।

सार्क शिक्षक महासङ्घका महासचिव लक्ष्मण शर्माले नेपाल र दक्षिण एशियामा महामारीमा विद्यालय र शिक्षामा देखिएका चुनौतीबारे मन्तव्य दिएका थिए । छलफलमा कोभिड– १९ पछि शिक्षा क्षेत्र र शिक्षक समुदायमा परेको असरबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए ।





  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १६:१५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया