प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको सबै क्षेत्रको मनोविज्ञान बुझेर स्थायी राजधानी दाङ तोकेको प्रष्टीकरण दिएका छन् । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी तोक्ने प्रस्ताव प्रदेशसभामा पेस भएपछि त्यसमाथि उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले त्यस्तो बताएका हुन् ।
प्रदेश सरकारले राखेको प्रस्तावमा विमति राख्नुपर्ने ठाउँ नभएको भन्दै मुख्यमन्त्री पोखरेलले दाङ राजधानी लग्यो भनेर कतिपयले मुख्यमन्त्रीले आफ्नो गाउँमा लग्यो भनेर आरोप लगाएको बताए । उनले साविक लुम्बिनी र राप्ती अञ्चलको सीमा र सिंगो प्रदेशको मध्यभागमा पर्नेगरी राजधानी तोकिएको बताए ।
‘मुख्यमन्त्रीले आफ्नो गाउँमा राजधानी लग्यो भन्ने कुराको सन्दर्भमा, मुख्यमन्त्रीको घरबाट भालुवाङ आउन जति समय लाग्छ, हाम्रो प्रदेशको पूर्ववर्ती सीमा बर्दघाटबाट भालुवाङ पुग्न त्यति नै समय लाग्छ’, मुख्यमन्त्री पोखरेलले भने ।
नयाँ भर्जिनल्यान्डभित्र नयाँ र व्यवस्थित सहर बनाउने भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले गरेको निर्णय वैज्ञानिक भएको र भावी पुस्ताले समेत त्यसको प्रशंसा गर्ने बताए । ‘भर्जिनल्यान्डभित्र नयाँ व्यवस्थित सहर बनाउने सोचका साथ हामीले यो प्रस्ताव अगाडि सारेका छौं । तपाईं हामी जनताको बीचमा जाँदा मास्टरप्लान बनाएर काम अगाडि बढाउने बित्तिकै ‘हामीले प्रदेशसभाका तर्फबाट जे गरेका छौं सही निर्णय गरेछौँ’ भन्न सक्नुहुनेछ’, मुख्यमन्त्री पोखरेलले भने, ‘२ वर्षभित्र गर्न पाउने वातावरण प्रदेश सरकारले निर्माण गर्नेछ । हामीले तोक्नका लागि तोक्ने होइन काम पनि गर्नेछ प्रदेश सरकारले ।’
‘लुम्बिनी’ नामले सबैको भावनालाई प्रतिनिधित्व गर्ने भन्दै मन्त्री पोखरेलले यसले साझा मनोविज्ञान निर्माण गर्छ । लुम्बिनीले प्रदेशलाई प्रतिनिधित्व गर्दा स्वाभाविक रूपमा हरेक जातजाति, भाषा, वेशभूषालाई प्रतिनिधित्व गर्ने मन्त्री पोख्रेलले बताए ।
प्रदेशको स्थायी राजधानी तोक्नेबेलामा पहिलो नम्बरमा दाङ, दोस्रो नम्बरमा रुपन्देही र तेस्रो नम्बरमा कपिलवस्तुको नाम आएको उल्लेख गर्दै विशेष समितिको सुझावअनुसार नै प्रदेशको नाम र राजधानी तोकेको बताए । ‘हामीले हाम्रा मनोविज्ञानहरू जोडेर प्रदेश बलियो बनाउने साझा कुरा हो । कुनै एउटा क्षेत्र विशेषलाई सोचेर समग्र प्रदेशको विकास सम्भव छैन । हाम्रो प्रदेश मिनि नेपालका रूपमा रहेको छ । हाम्रो प्रदेशमा आर्थिक र सामाजिक विकासले अत्यन्त पछाडि परेका क्षेत्रहरू पनि छन्’, मुख्यमन्त्री पोखरेलले भने, ‘यो प्रदेश बनाउन सक्दा सिंगो नेपाल बन्छ । यो प्रस्ताव प्रदेश सार्नका लागि होइन बनाउनका लागि हो ।’
प्रदेश ५ भित्रको सबैभन्दा ठूलो नदी सभ्यता भएको क्षेत्रमा प्रदेशको स्थायी राजधानीको परिकल्पना गरेको भन्दै उनले दुईवटा आञ्जलिक मनोविज्ञान र भेरी अञ्चल अन्तर्गत रहेका बाँके र बर्दियाको मनोविज्ञान पनि समेट्ने काम त्यसले गर्ने बताए ।
लुम्बिनीलाई जति तिब्र रुपमा विकास गर्न सकिन्छ त्यति नै तिब्र रुपमा प्रदेशको विकास हुने भन्दै उनले यस क्षेत्रको विकासका सन्दर्भमा कुनै प्रकारको चिन्ता नगर्न सबैलाई अनुरोध समेत गरे । ‘रुपन्देही क्षेत्रलाई पर्यटकीय राजधानीका रूपमा विकास गर्ने निर्णय गरेका छौं । आजैको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको छ । हाम्रो प्रदेशभित्रका सुदूरक्षेत्र विकासमा पछाडि पर्छन् कि भनेर पाल्पाको रामपुर क्षेत्रलाई विकास गर्ने, रुकुम पूर्वमा पर्यटकीय क्षेत्रका रूपमा कसरी विकास गर्न सकिन्छ भनेर मोडेल अर्गानिक भिलेज निर्माण गरिनेछ’, मुख्यमन्त्री पोखरेलले भने ।
प्रदेश निश्चित क्षेत्र विशेषमा नरहने भन्दै उनले राजधानी तोकेका क्षेत्रको लालमटिया, सिसहनियाले थारु सभ्यता, भालुवाङ, लापे भन्ने ठाउँले मगर सभ्यताको प्रतिनिधित्व र गोबरडिहाले मधेशी सभ्यताको प्रतिनिधित्व गर्ने बताए ।
राजधानी प्रस्ताव गरिएको क्षेत्रभित्र लुम्बिनी अञ्चल भित्रकै अर्घाखाँची जिल्लाले सितगंगा नगरपालिका समेटिएको भन्दै जसले पछाडि परेको अर्घाखाँची क्षेत्रको विकासमा मद्दत पुग्ने बताए । ‘हामीले जुन ३ वटा पालिका छनोट गरेका छौं दुईवटा पालिकाको नेतृत्व प्रतिपक्षी दलका साथीहरूले गरिरहनुभएको छ । साझा मनोविज्ञानको खोजी गर्नेक्रममा त्यस बिन्दुमा हामी पुगेका हौं’, उनले भने, ‘यसमा राजनीतिक आग्रह वा पूर्वाग्रहको विषय कहीँ पनि छैन । प्रतिपक्षी दलका नेताहरूले राजनीतिक सहमतिको प्रयासका लागि पहल नै गरिएन भन्ने कुरा सत्य होइन । उहाँहरूसँग हामीले प्रयास ग¥यौं तर उहाँले मान्नुभएन ।’ विपक्षी दलको नेतासँग बसेर सहमति जुटाउन खोज्दा ती नेतालाई त्यो म्यान्डेड नै छैन भन्ने जवाफ पाएको समेत उनले बताए ।
यो प्रस्तावले ५० वर्ष पछिका पुस्ताले पनि ‘हाम्रा पुर्खा कति दूरदर्शी रहेछन्’ भनेर गर्व गर्ने विश्वास मुख्यमन्त्रीले व्यक्त गरे । अहिलेको अवस्थामा पायक र अपायककको कुरा आजको सन्दर्भको भएको भन्दै भोलिका दिनमा सडक सञ्जाल विस्तार गर्दै जाँदा सबै जिल्लाका लागि उत्तम हुने समेत उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।