प्रदेश २ मा प्रहरीको भेषमा ठगी बढ्यो

पछिल्लो समय प्रदेश २ मा प्रहरीको भेषमा ठगी धन्दा मौलाएको छ । असोज १५ मा वीरगन्जमा नक्कली इन्सपेक्टर पक्राउ परे । यसैगरी सिरहामा नक्कली डिएसपी फन्दामा परेका छन् ।

बलात्कार मुद्दामा पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै ३५ हजार रुपैयाँ ठगी गरेका सिरहाको अर्नामा गाउँपालिका घर भएका मो. जाबिर पक्राउ परेका हुन् । जाबिरले सिरहाकै बरियारपट्टी गाउँपालिका ४ का २३ वर्षीय शिवकुमार साहलाई छुटाइदिने भन्दै उनकै भाइ मुकेशसँग रकम ठगेका थिए ।

बलात्कार आरोपमा पक्राउ परेका शिवकुमार पुर्पक्षका लागि सिरहा कारागारमा छन् । उनी रिहा नभएपछि जिल्ला प्रहरी कार्यालय सिरहामा जाबिरमाथि ठगी गरेको उजुरी पर्‍यो । प्रहरीले जाबिरलाई असोज १८ गते पक्राउ गरेको हो ।

बलात्कार आरोपमा पक्राउ परेका व्यक्तिलाई छुटाइदिने नाममा रकम ठगेको उजुरी परेपछि ३० वर्षीय जाबिरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम पौडेलले जानकारी दिए । उनले भने, 'जाबिरले नेपाल प्रहरीको डिएसपी हुँ र मुद्दा फाँटमा काम गर्छु भन्दै बलात्कार आरोपीलाई छुटाइदिने आश्वासन दिई रकम ठगेको खुलेको छ ।' 

जाबिरमाथि ठगी शीर्षकमा मुद्दा चलाइएको भन्दै उनीबारे थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताए । 'प्रहरीको नाममा अन्य व्यक्तिलाई पनि ठगेको हुनसक्छ', उनले भने, 'तर अहिले त्यस्तो म्यासेज आएको छैन ।'

पर्सामा भने ५ दिन अगाडि लोक सेवा आयोगको नक्कली परीक्षा लिने क्रममै नक्कली इन्सपेक्टर बाराको जितपुर सिमरा उपमहानगर ७ का २९ वर्षीय अजयकुमार राय पक्राउ परेका थिए । सरकारी जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट ३ लाख ६१ हजार रुपैयाँ ठगी गरेको रायमाथि प्रहरीले कारबाही अगाडि बढाइसकेको छ ।



प्रहरी भेषमा ठगी धन्दा किन बढ्यो भन्ने जिज्ञासामा सिरहाका प्रहरी प्रवक्ता डिएसपी पौडेल भन्छन्, 'प्रहरीमाथि जनता विश्वास गर्छन् । त्यसैले नक्कली प्रहरी बनेर ठगी गरेको पाइएको छ । सर्वसाधारण सचेत हुनु जरुरी छ । पैसा जति दिए पनि कानुन विपरीतका काम कसैले गराउन सक्दैन भन्ने कुरा बुझ्नुपर्छ ।'



  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १८:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया