अन्य कलाकारको जस्तै गायक कमल खत्रीका पनि पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरिदियो, कोरोना लकडाउनले । निर्धारित भइसकेका कार्यक्रमहरु स्थगित हुँदा खल्लो लाग्नु स्वभाविकै हो ।
विश्वव्याधि कोरोनाभाइरसका कारण हिन्दुहरुको महान चाड दशैं–तिहार नजिकिँदै गर्दा खल्लोपनको सीमा झन्झन् बढिरहेको छ । अनि यसले अहिले संगीत र स्टेज कार्यक्रमको माहोल पनि निरस बनाइसकेको छ ।
त्यसैले त, अहिले कलाकार तथा गायक गायिका पनि स्टेजमा होइन, घरभित्र थुनिन बाध्य छन् । सामाजिक दूरी कोरोनाविरुद्धको अचूक औषधी बनिरहेको यो समय यसअघिका वर्षमा व्यस्तताको पयार्य हुन्थ्यो । व्यस्त हुन्थे कलाकार, व्यस्त हुन्थे, संगीत र गीतका पारखीहरु ।
गायक कमल खत्री पनि अपवाद होइनन् । कोरोनाका कारण अरु सबैजस्तो खत्री पनि अहिले एकान्तवासमै छन् । हो, उनले लकडाउनमै पनि दर्शकसँग ‘भर्चुअल कन्सर्ट’ त गरे । तर, तर स्टेजमा दर्शकसामु प्रत्यक्ष गाउनुमा जति मजा छ त्यो मजा एउटा कोठमा बसेर भर्चुअल रुपमा पाउँदैनन् उनी ।
‘भर्चुअल कन्सर्ट गर्दा दर्शकसँग 'इन्टरएक्सन' भइरहेको छैन जस्तो लाग्ने,’ कमल आफ्नो अनुभव सुनाउँछन्, ‘कुनै कुनै बेला त एक्लै गाइरहेको जस्तो पनि लाग्ने ।’
तर मान्छेको प्रवृति नै हो, ऊ बिस्तारै अभ्यस्त हुँदै जान्छ । कमल खत्री पनि फेसबुक कन्सर्टमा अब अभ्यस्त हुन थालेका छन् । जसरी आम दुनियाँ अब कोरोनाभाइरससँग अभ्यस्त हुन थालेको छ ।
कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपालमा पनि सरकारले ११ चैतदेखि लकडाउन लगायो । लकडाउनले खत्रीका योजना पनि लक्ड भए ।
लकडाउन के सुरु भएको थियो, कमल अन्योलमा पर्न थाले– अब के गर्ने, कसो गर्ने ?
सधैं बाहिर रमाइरहेको मान्छे, एकाएक कोठाभित्र थुनिएर बस्नुको समस्यामा परे कमल । ‘मैले यस्तो अवस्था असअघि कहिल्यै पनि भोगेको थिइनँ,’ लकडाउनका सुरुवाती दिनताकका अनुभव सुनाउँछन् कमल, ‘कहिलेकाहीँ ज्वरो वा स्वास्थ्यमा समस्या आउँदा केही दिन कोठामै बस्न त गाह्रो हुन्थ्यो मलाई ।’
छोटो समय एकै ठाउँमा एक्लिएर बस्न पर्दा आत्तिने कमलले लकडाउनमा कोठाभित्र थुनिनु पर्दा अनेक समस्या भोगे, अनेक नकारात्मक सोचहरुले उनको दिमागमा स्थान जमाए ।
यसका लागि उनले आफूलाई भुलाउने उपायहरु पनि नखोजेका होइनन् । त्यहीमध्ये एक हो, पाककला । कमलले भान्छामा आफूलाई मन पर्ने परिकार पकाएर लकडाउनका केही दिन बिताए ।
‘त्यसका लागि युट्युबको सहारा लिएँ,’ उनले भने, ‘मीठो फिस करी बनाउन सिकेँ यो समयमा ।’
खानाका विभिन्न परिकारसँगै उनी आफ्नो दिमाग र स्वास्थ्यलाई सन्तुलनमा राख्न योग र ध्यानतिर पनि केन्द्रित भए । यो लकडाउनले ध्यान र योग गर्ने विभिन्न तौर तरिका सिके, उनले ।
सुरुवाती दिनमा लकडाउनका कारण आत्तिएका कमल अहिले भने लकडाउनकै कारण खुसी छन् । यो के मानेका भने उनले लकडाउनमा धेरै कुरा सिक्न पाए ।
‘लकडाउनले मलाई धेरै कुरा सिकायो,’ फरकधारसँग उनले भने, ‘लकडाउन नहुँदो हो त यी कुराहरुबारे सोच्न कहिल्यै फुर्सद पाउने थिइनँ होला ।’
लकडाउनले उनलाई मुख्य रुपमा तीन कुराको महत्वबारे सिकाएको छ ।
पहिलो, स्वास्थ्य र खाना । दोस्रो, प्रकृतिको । र तेस्रो, सकारात्मक सोच ।
‘हामीले जे नै हासिल गरे पनि, हामी जहाँ नै, जति नै कमाए पनि हाम्रो स्वास्थ्यभन्दा ठूलो कुरा अर्को कुनै छैन,’ उनले सुनाए, ‘यो कुरा मलाई भित्रैबाट महसुस भयो ।’
हामीले आफुलाई स्वस्थ राख्न खानेकुरा र सकारात्मक सोचको धेरै महत्व हुने उनको निष्कर्ष छ । हामीले स्वस्थ खानेकुरा खायौँ र सोच्याैँ भने मात्र हाम्रो स्वास्थ्य राम्रो हुने उनी मान्छन् ।
प्रकृति संरक्षणलाई पनि विशेष ध्यानमा राख्नु पर्ने उनको बुझाई छ ।
‘सबैभन्दा शक्तिशाली त प्रकृति नै रहेछ नि होइन र ?,’ कमलसँग कोरोना महामारीले प्रश्न जन्माइदिएको छ, ‘फेरि हामीले प्रकृतिलाई नै सबैभन्दा धेरै उपेक्षा किन गरिरहेका छौँ ? ’
आउँदा दिनहरुमा यी कुराको महत्व सबैलाई बुझाउन आफ्नो सिर्जनाहरुबाट यी कुराको महत्वबारे प्रस्तुत गर्ने उनको सोच रहेको छ ।
‘स्वास्थ्य, खाना, प्रकृति र सकारात्मक सोचको महत्वबारे सबैले बुझ्नु आवश्यक छ,’ उनले आफ्नो भावी योजना सुनाए, ‘अहिलेसम्म मैले प्रेम, सम्बन्ध, राष्ट्र, जातीय भेदभावबारे गीत गाउँदै आइरहेको छु । अब यी कुराको महत्वबारे लोक भाकामा गीत बनाएर सबैलाई बुझाउने प्रयास गर्ने छु ।
कमल खत्री आफ्नो लयमा फर्किसकेका छन्, अर्थात उनी आफ्नो काम फर्किसकेका छन् । यसबीच उनले ८ वटा गीत लेखे र कम्पोज गरे । तीमध्ये ५ वटा गीत रिलिज पनि भइसकेका छन् । गीतले राम्रो चर्चा पनि पाइरहेका छन् ।
तर, ती गीतहरु प्रत्यक्ष रुपमा दर्शकसँगै गाउने धोको पूरा नभएकोमा उनी दुःखी छन् । भन्छन्, ‘स्टेज मिस भइरहेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।